© २०२३
बुटवल, ५ फागुन ।
बुटवल उपमहानगरभित्रका विद्यालयस्तरमा फुटबल खेलाडी उत्पादन गर्न उदेश्यका साथ छात्र/छात्रा फुटबल प्रतियोगिता सोमबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ मा नहरपुर माबि र मोतिपुर माबि विजयी भएका छन ।
बुटवल १३ जबई खेलमैदानमा भएको पहिलो खेलमा नहरपुर मा. बि.ले ज्ञानपुञ्ज मा. बि.लाई २–० गोल अन्तरले पराजित गरेको हो । नहरपुरको जितमा आशिष भण्डारीले ९ औं मिनेटमा र महेश महतले २१ औं मिनेटमा गोल गरेका थिए । यसैगरि दोश्रो खेलमा मोतिपुर मा. बि.ले तिलोत्तमा मा. बि.लाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । मोतिपुरको जितमा सुनिल खड्काले खेलको ५०औं मिनेटमा एकमात्र गोल गरेका थिए ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदमार्फत बुटवलका सबै भुगोल र भागलाई समेट्ने गरि प्रतियोगिता आयोजना गरिरहेको बताए । भुगोल जोड्ने र एकअर्कामा आत्मीयता बिकास गर्ने गरि खेल गतिविधि गरिरहेको उनले बताए । सुविधासम्पन्न पुर्वाधार विकासमा पहल भैरहेको भन्दै वडास्तरमा धेरै प्रतियोगिताबाट खेल गतिविधिलाई तिब्रता दिएको उनले बताए । टोलटोलमा हुने कार्यक्रमसंगै सास्कृतिक पहिचानलाई उजागर हुने गरि अघि बढ्न सुझाव दिए ।
प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।