Butwal Today

अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रमुखलाई बुझायो १० बुँदे ध्यानाकर्षणपत्र

५ फाल्गुन २०८१, सोमबार
अ+
अ-
भैरहवा ।
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
अनेरास्ववियुले विभिन्न १० बुँदे माग राख्दै सोमबार क्याम्पस प्रमुख लक्की प्रसाद जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पटकटपटकको पहलका बाबजुत त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट दुईवटा बस खरिद गर्नका निम्ति ५० लाख विनियोजन भइसकेकोले २४ घण्टाभित्र बस खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने, नियमित कक्षा सञ्चालनको सुनिश्चितता गर्नुपर्ने, शुल्क निर्धारण स्पष्ट र अनावश्यक शुल्क लिन नहुने माग राखेको छ ।
त्यस्तै क्याम्पस प्रशासनले विद्यार्थीहरुको गुनासो समाधान गर्न सहायता कक्षा (हेल्प डेस्क) स्थापना गर्नुपर्ने, विद्यार्थीहरुको विचार सुन्ने (स्टुडेण्ड फिडब्याक सिस्टम) को सुरुवात गर्नुपर्ने, विद्यार्थीहरुलाई रिसर्च एण्ड डेभलपमेण्टका लागि अनुदानको व्यवस्था गर्नुपर्ने अनेरास्ववियुको माग छ ।
त्यसै गरी स्थानीय विद्यालयहरुसँग सहकार्य गरी विद्यार्थीहरुले टिचिङ्ग वा सामाजिक कार्य गर्न सक्ने अवसर र त्यसका लागि आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने, होस्टेलमा रहेका समस्याहरु शौचालय, पानीको मोटर, पंखा सम्बन्धि समस्या तुुरुन्त समाधान गर्नुपर्ने, विद्यार्थीहरुलाई सूचनाको अभावमा परीक्षा फारम प्राक्टिकल र परीक्षा दिन छुट्ने गरेकाले सूचना प्रदानलाई थप प्रभावकारी बनाउन सूचना तथा सोधपुछ कक्षको व्यवस्था गर्नुपर्ने अनेरास्ववियुले माग राखेको नगर कमिटी कोषाध्यक्ष कमल घिमिरेले बताए ।
अनेरास्ववियुले राखेका मागलाई क्याम्पस प्रशासनले खेलठट्टाको रुपमा लिएमा सशक्त चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीले बताए ।
अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीले बारम्बार विद्यार्थीका हक हितका पक्षमा आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?