© २०२३
प्यूठान, २८ कात्तिक ।
भोट माग्न गाउँ गाउँ पुगेका उम्मेदवारहरुसँग विकासका माग राख्नेहरुको ओइरो लाग्ने गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुसँग गाउँको विकास गरिदिनका लागि स्थानीयले मागपत्र बुझाएका हुन् ।
प्यूठानका ६४ वडाहरुमध्ये ६० वडामा पुगेर चुनावी भेटघाट तथा सभा गरेका एमाले प्रतिनिधीसभा सभा सदस्य उम्मेदवार सूर्य थापालाई सवै वडाका स्थानीयले विकासका मागहरु थमाएका छन् । ‘स्थानीयले आ–आफ्ना ठाउँ विशेषका मागहरु दिनुभएको छ’,थापाले भने,‘सबैका माग बुझेका छौँ । त्यति ठूला माग पनि छैनन् । हामी चुनाव जितेर गइसकेपछि सवै मागहरु पुरा गर्नेखालका छन् । हामी स्थानीयको आवश्यकताप्रति गम्भिर छौँ ।’
जिल्लाका सवै वडामा पुगेर मतदातासँग मत माग्ने कार्यक्रम अन्तिम चरणमा पुगेको थापाले सुनाए । यसअघि निर्वाचित जतप्रतिनिधीहरुले काम नगरेकै कारण स्थानीयको आक्रोश देखिएको उनले अनुभव सुनाए । अपुरो सडक पुरा गर्ने, खानेपानीका धारा जडान गर्ने, सिंचाई कुलो निर्माण जस्ता दैनिक जनजीवनसँग सम्वन्धित मागहरु मतदाताहरुले दिएको थापाले जानकारी गराए ।
एमालेबाटै प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ र २ मा उम्मेदवार बनेका तुल्सीराम शर्मा र हरि रिजालले पनि स्थानीयले आफूहरुलाई विकासका मागहरु पेश गरेको जानकारी गराए । ५१ बुँदे विकासका प्रतिवद्धताहरु लिएर मतदाताको घरदैलोमा पुगेको एमाले उम्मेदवारहरुले बताए ।
पाँचदलीय गठवन्धनले १ सय १ बुँदे साझा प्रतिवद्धता लिएर मत माग्न गएका छन् । गठवन्धनबाट प्रतिनिधीसभा सदस्यमा राजमोकी दुर्गा पौडेल, प्रदेश निर्वाचन क्षेत्र नम्वर १ मा माओवादीका कृष्ण अधिकारी (प्रकाश) र २ नम्वर क्षेत्रमा कांग्रेसका सरोज थापा (रोज राणा) उम्मेदवार छन् ।