© २०२३
बुटवल, २७ कात्तिक ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही अव अन्य ठाउँबाट विकास सिक्न आउने थलोको रुपमा स्थापित हुने बताएका छन् । पूर्वअर्थमन्त्री पौडेलले आफूले पहलकदमी लिने पनि बताए ।
रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार समेत रहेका पौडेलले जनतामा विकासको भोक पलाउन थालेको पनि बताए । “एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकास भोक जगाएको छ”–उनले भने–“जनतामा विकास आवश्यकताहरुबारे खुलेर बोल्न सक्ने अवस्थाको विकास भएको छ ।”
पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने जानकारी पनि दिए । अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने पनि पौडेलको भनाई छ । आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैनाका विभिन्न वडाका मतदातासँग भेटघाट गर्दै उनले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकताहरुलाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताए ।
पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने उनको भनाई छ । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपानी, विद्युत तथा शिक्षा स्वास्थ्य लगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने उनले बताए ।
रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाँडेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौं भनी जनतासामु ग्यारेन्टी गर्नुपर्ने उल्लेख गरे । “अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन्”–श्रेष्ठले भने, “नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिवद्ध छ ।”