© २०२३
बुटबल, २८ माघ ।
टिप्परबाट दुर्घटना बढेको भन्दै जनगुनासो आउन थालेपछि बुटबलमा चालकहरूलाई सचेतनामूलक तालिम प्रदान गरिएको छ। तिनाउ टिप्पर व्यवसायी संघको अगुवाईमा ट्राफिक नियम सचेतना कार्यक्रम सुरु गरिएको हो।
ट्राफिक नियमको पालना गरौं, दुर्घटना कम गरौं भन्ने उद्देश्यसहित सचेतना कार्यक्रम सुरु गरिएको हो। आइतबार तल्लो सिदबाबा मन्दिरबाट सुरु भएको सचेतना कार्यक्रम साताभरि संचालन हुने तिनाउ टिप्पर व्यवसायी संघका अध्यक्ष अरविन्द्र पाण्डेले बताए।
चालकहरू सचेत भए दुर्घटना आफैं कम हुने भन्दै चालकहरूले सानो कमजोरी गर्दा ठूलो दुर्घटना हुने गरेको भन्दै समितीले चालकलाई १० मिनेट सडकमा रोकेर सवारी चलाउँदा चालकले अपनाउने नियम बारे जानकारी गराइएको थियो। नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटबल र यातायात मजदुर तथा व्यवसायी भलाईकोषको सहयोगमा कार्यक्रम गरिएको सचिव तोया लम्सालले बताए।
कार्यक्रममा सवारी चलाउँदा मोबाइलको प्रयोग नगर्न, मादक पदार्थ र नशालु पदार्थ सेवन गरेर सवारी नचलाउने, यस्ता वस्तुहरू सेवन गरेर गाडी चलाउँदा सडकमा दुर्घटना हुने र ठूलो धनजनको क्षति हुने बताइएको छ। चालकलाई समेत कडा कारवाही हुने भएकाले यस्ता कुरालाई बन्देज लगाउने, बजार क्षेत्रमा कति कुन गतिको सवारी चलाउने, लेनको प्रयोग कसरी गर्ने, कुन लेनमा चलाउने, आफुभन्दा अगाडिको गाडीको र आफ्नो गाडीको दुरी कति र कसरी राख्ने बारे ट्राफिक प्रहरी कार्यालय बुटबलका प्रहरी नायब निरीक्षक रण बहादुर बिसीले सुझाव दिएका थिए।
सडकमा जथाभाबि सवारी चलाउँदा दुर्घटनाको जोखीम बढ्दै गएको भन्दै बिसीले भने, “बजार क्षेत्रमा ओभर स्पिड गरे, ओभर लोड बोके, लेनको प्रयोग नगरे कारवाही गरिने छ।” सवारी चलाउँदा मापसे र लापसे गरेको फेला परे सवारी अनुसार कडा भन्दा कडा कारवाही गरिने बिसीको भनाई छ।
यता यातायात मजदुर तथा व्यवसायी भलाईकोषका महासचिव योग बहादुर गुरुङले चालकहरू सचेत हुनु आवश्यक रहेको बताए। सवारी चलाउँदा चालक आफैंले बुद्धि र विवेक प्रयोग गरेर बजारमा कति स्पिड गर्ने, कहाँ हिड्ने, आफैं सोचेर हिड्न आग्रह गर्दै महासचिव गुरुङले भने, “सवारी चलाउँदा मादक पदार्थ सेवन गर्ने वा नशालु पदार्थ सेवन गरेर दुर्घटना गरेमा भलाईकोषले सहयोग नगर्ने र चालक आफैं त्यसको जिम्मेवार हुनेछन्।”
तिनाउ टिप्पर व्यवसायी समितिका अध्यक्ष अरविन्द्र पाण्डेले चालकहरूलाई जिम्मेवार बनाउन सचेतना कार्यक्रम सञ्चालन गरिएको बताए।
समय समयमा हुने यस्ता कार्यक्रमहरूले भविष्यमा दुर्घटनाहरूलाई कम गर्ने र चालकहरूलाई सचेत गराउने अपेक्षा गरिएको छ। आइतबार पहिलो दिन ९० भन्दा बढी टिप्पर चालकहरूलाई ट्राफिक नियम सचेतना कार्यक्रम गरिएको र यो कार्यक्रम साताभरि चलिरहने संघले जनाएको छ। यस्ता कार्यक्रमहरूले दुर्घटनाहरू कम गर्ने विश्वास गरिएको छ।
