© 2026
बुटवल, २६ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको आयोजनामा शनिबार १४३ औ नियमित रक्तदान कार्यक्रमको एक समारोहका बिच नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेय, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य कृष्ण भट्टराई, कार्यक्रम संयोजक उदय भट्टराईले जन्मदिन पर्नुभएको मानव अधिकार तथा मानव अधिकार तथा शान्ति समाजका सभापति अर्जुन ज्ञवालीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेयले रगत अभियानलाई सार्थक बनाउन समाजका सबै समुदायको अपनत्व हुन जरुरी रहेको बताए । समुदायमा रक्तदानको महत्व बुझाउन बारेमा कार्यक्रम चलाउन जरुरी रहेको उनले बताए । कुनै समयमा रक्तदानको अभियानको नाममा आयोजक संस्थाको रक्तदान संख्या बढाउन सेना, प्रहरीलाई प्रयोग गर्ने गलत प्रवृत्ति तोड्न समाज सफल भएको उनले बताए । मानव अधिकारको हिसाबमा केहि संस्थाहरु गलत काम गरेको उनले दाबी गरे । नेपालका सबै अस्पतालमा उपचार गर्ने बिरामीहरुलाई रगत निशुल्क गर्नुपर्ने तर्क दिदै उनले सरकार रगतको ब्यापारी बनेको आरोप लगाए । ‘सरकारी अस्पतालमा निशुल्क घोषणा गरिरहदा त्यसको दोब्बर बढि बिरामी भने निजि अस्पतालमा सेवा लिन बाध्य छन ।’–उनले भने । डायलोसिस देखी अन्य धेरै समस्या भएका बिरामीलाई सरकारी अस्पतालमा उपचार दिनसक्ने क्षमता नभएको उनले दाबी गरे ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहानले रक्तदान कार्यक्रमबाट रगत अभावलाई रोक्न अभियान सफल रहेको भन्दै यसलाई नियमित गर्दै आएको बताए । ब्लड बैकमा ओ पोजिटिभ बाहेकको रगत अभाव रहेको वर्तमान अवस्थामा शनिबारबाहेक दैनिक आकस्मिक रक्तदान गरिरहेको उनले बताए । नेपाल सरकारबाट सरकारी अस्पतालमा उपचार गर्ने बिरामीहरुलाई निशुल्क रगत ब्यवस्थापन गर्दै आएको भएपनि त्यो पर्याप्त नभएको उनले बताए । निशुल्क रगतबारे गण्डकी प्रदेश सरकारको निर्णय उपयुक्त भएको भन्दै उनले सबै प्रदेश सरकार गण्डकी मोडालिटी अप्नाउन सके आम नागरिकलाई फाईदा मिल्ने बताए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय बिभागीय सदस्य कृष्ण भट्टराई, समाजका सदस्य हरि ज्ञवालीले रक्तदान जस्तो पुण्य कामलाई सबै संघसंस्थाहरुको साथ सहयोग जरुरी हुने बताए ।
कार्यक्रमका संयोजक उदय भट्टराईले बुटवल वरिपरि आठ स्थानमा रक्तदान भैरहेको भन्दै रगतको अभियानलाई निरन्तर लाग्नुपर्ने ३५ युनिट रगत संकलन भएको बताए । यसैबिच कार्यक्रममा समाजको आजिवन सदस्यता लिएका सदस्यहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।