Butwal Today

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप

२३ माघ २०८१, बुधबार
अ+
अ-

बुटवल, २३ माघ ।
रूपन्देही लगायगत देशभर विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । बुटवलमा नगरप्रमुख खेलराज पाण्डेय, उप प्रमुख सावित्रादेवी अर्याल, स्वाथ्य शाखा प्रमुख युवराज पाण्डेले स्वाथ्यकर्मीलाई खोप बक्स र विद्यार्थीलाई खोप कार्ड प्रदान गरी अभियानको शुभारम्भ गरेका थिए । ज्ञानोदय माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन ।किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । बुटबलमा भने १० हजार किशोरीहरूलाई ८३ स्थानबाट खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
यस्तै लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने छ ।सरकारको १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ को खोप लगाउने देशव्यापी अभियान अन्तर्गत आजदेखि लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ ।लुम्बिनी प्रदेशका दुई लाख ९० हजार १२४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक पर्ने खोप सम्बन्धित सबै खोप केन्द्रहरूमा पठाइएको मन्त्रालयलले स्पष्ट गरेको छ ।प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीका ६१ हजार २३१ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । यसैगरी, दाङमा ४२ हजार ६७ र कपिलवस्तुमा ३९ हजार ५२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले रुकुम पूर्वमा सबैभन्दा कम तीन हजार ५९१ र अर्घाखाँचीमा नौ हजार ३३४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । पाल्पामा १२ हजार ५६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७९३, रोल्पामा १५ हजार ४७८, प्यूठानमा १६ हजार ३३५, बर्दियामा २४ हजार ६५ र बाँकेमा ३४ हजार ९३ जनाले ‘एचपिभी’ खोप लगाउने भएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा शुभारम्भ गरे । मुख्यमन्त्री आचार्यसहित प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उक्त विद्यालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरी सो अभियान सुरु गरेका हुन् । अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीसहित १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई लक्षित गरिने भएको छ ।कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयबाहिर रहेका किशोरीलाई समेत समेटेर अभियान सञ्चालन गर्ने नीति भएअनुसार लक्षित उमेर समूहका सबैलाई समेटेर खोप कार्यक्रम सफल बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । “विद्यालयमा रहेका किशोरीले खोप पाउने कुरा सुनिश्चित छ”, मुख्यमन्त्री आचार्यले भने, “विद्यालयबाहिर रहेका किशोरीहरूलाई समेत खोजेर अभियानमा समेट्न जरुरी छ । विद्यालयमा नजोडिएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू नछुटून् भन्नेतर्फ हामी सबैको विशेष ध्यान जान आवश्यक छ ।”
प्रदेश स्वास्थ्यमन्त्री सारुले क्यान्सर, मिर्गौला र मुटुको उपचारमा सहयोग गर्न गत वर्ष रु १३ करोड विनियोजन गरेको र क्यान्सर रोग उपचारका लागि मात्र रु नौ करोड खर्च भएको जानकारी दिँदै ‘खोप अभियान’ सफल बनाउन सबैसँग अनुरोध गरे ।
“नसर्ने रोगका कारण बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ, राज्यले आफ्नो तर्फबाट सक्दो सहयोग पनि गरिरहेकै छ”, उनले भने, “अब सचेत र सजग भई रोग नलाग्नेगरी हामी सबैले स्वास्थ्य जीवनशैली अपनाउन जरुरी छ ।” लुम्बिनी प्रदेशमा वार्षिक करिब दुई हजार व्यक्ति क्यान्सर रोग उपचारका लागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेको उनले जानकारी दिए ।स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले दुई चरणमा खोप लगाइने जानकारी दिँदै लक्षित उमेर समूहका किशोरीहरूलाई अनिवार्य खोप लगाउने अभियान सफल बनाउन सम्बद्ध सबैसँग अनुरोध गरे ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले पालिकामा प्रभावकारी ढङ्गले खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी टोलीलाई निर्देशन दिए । यसैबीच, बुटवल उपमहानगरपालिकाले करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य महाशाखाप्रमुख युवराज पाण्डेले जानकारी दिएका छन् ।