© २०२३
माछा भन्ने बित्तिकै रूपन्देहीको छपीया प्रसिद्ध छ । यहाँ माछा पाल्ने किसानमात्रै होइन माछाका परिकार चखाउने थलोको पनि विकास भएको छ ।भैरहवाबाट करिब १० किमी पश्चिम उत्तरतर्फ सियारी गाउँपालिकामा पर्ने छपियामा बुटवल–भैरहवा सडकखण्डको जुनसुकै स्थानबाट र पूर्व–पश्चिम राजमार्गमा पर्ने रूपन्देहीको तामनगर, सालझण्डी, रुद्रपुरबाट पनि सहजै पुग्न सकिन्छ । तपाईंलाई फरकखालको माछाको स्वाद र वातावरणमा रमाउनका लागि यो ठाउँ उपयुक्त छ । माछा उत्पादनमा प्रसिद्धी कमाएको यो ठाउँमा मत्स्य पर्यटन फराकिलो बन्दै गएको छ ।
माछा उत्पादन र व्यवसायिकतामा सहयोग गर्ने गरेको छ । माछाका परिकार खान मन पराउने जो कोहीको पनि यो पहिलो रोजाई बनेको छ । छपियामा झोल माछा, फ्राइ, माछाको सेकुवा, स्टिम, ब्वाइल, माछा तावा, माछाको मःमः, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिंगर, माछाको छोइला लगायतका डेढ दर्जन परिकार उपलब्ध छन् ।
रूपन्देहीको देवदहबाट उत्तर लागेपछि चरङ्गे गाउँ पुगिन्छ । चारैतर्फ जंगलको बीच सुन्दर बस्तीमा धेरै मानिसहरू लोकल कुखुराको मासु र लोकल कोदोको ढेँडो खान पुग्छन् । त्यहाँ पुगेपछि स्थानीयबासीले तयार गरेर कुखुरा, खसी, बोका, बंगुर, हाँसको मासुका परिकार सहित स्थानीयस्तरमा तयार पारिएको कोदो, लोकल रक्सी समेत खान पुग्छन् । त्यसैगरी भैरहवाको पवनको पेडा पनि अति लोकप्रिय छ । यहाँ पाईने पेडा खानका लागि धेरै टाढा–टाढाबाट मानिसहरू आउने गरेका छन् । त्यसैगरी लुम्बिनी घुम्न आउने मध्ये धेरैजसोले पवनको पेडाको स्वाद लिएर जाने गर्दछन् । पाल्पा भन्ने बित्तिकै धेरैको मुखमा चुकौनीको स्वाद आउने गर्दछ । चुकौनी हरेक खानासँग मिल्ने भएका कारणले पनि सबैले मन पराउँछन् । खाँदा अमिलो, पिरोे स्वाद हुने भएकाले पनि धेरैले मन पराउँछन् । यसको स्वाद लिन बुटवल, भैरहवा देखि कपिलबस्तु नवलपरासीका मानिसहरू धेरैजसो गर्मी छल्न पाल्पा जानेर चुकौनी खाने गरेको भेटिन्छ । पाल्पा जाने हेरक चोक, पसल, होटलमा चुकौनी खान पाईन्छ । दही, आलुलाई मिसाएर बनाईने परिकार अत्यन्त स्वादिलो हुने भएकाले पनि धेरैको रोजाईमा पर्ने गर्दछ । पाल्पाका धेरै घरहरूमा पनि यसको परिकार बनाउने र आफन्त पाहुनाहरूलाई खुवाउने प्रचलन रहेको छ ।
कपिलबस्तु पुगेपछि जो कोहीले पनि लङ्गलट्टा नखाई फर्किदैनन् । देख्दा सामान्य आलुको समोसा जस्तै देखिए पनि स्वाद अत्यन्त मिठो हुन्छ । मैदा भित्र तयार पारिएको कुरौनी राखेर चिनीको चास्नीमा डोबेर तयार पारिएको मिठाईको स्वाद लिन कपिलबस्तुको तौलिहवा पुग्नुपर्छ ।वलपरासीमा थारु जातीको स्थानीय परिकार घोंगी खान पाईन्छ । पहिले पहिले गाउँघरमा खाने परिकारलाई अहिले बाहिरबाट आउनेहरूका लागि नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब ३ किलोमिटर पूर्व पुगेपछि पुगिने थारु रिसोर्टमा घाेंगीका परिकार खान पाईन्छ । यहाँ घाेंगी खानका लागि नवलपरासी सहित छिमेकी जिल्लाका मानिसहरू धेरै जाने गरेका छन् । त्यहाँ पर्यटकहरू आउने बित्तिकै पोखरीमा पालेका घाेंगीलाई निकाल्ने र परिवार बनाउने गरिन्छ ।
दहमा फूल्ने कमलका जरा निकाल्ने र चाना बनाएर अचारको रूप दिने गरिन्छ । पछिल्लो समयमा स्थानीय होटलको भान्सामा कमलको अचार अनिवार्य जस्तै बनेको छ । कमल दहबाट निकालिएका जरा अचारकै लागि स्थानीयले किन्छन् । जरा धेरै हुँदा बिक्री गरेर बाँकी रहेको चाना बनाउन थालिएको हो ।
गुल्मीको गुड पनि लोकप्रिय स्वादमा गनिन्छ । विशेषगरी गुल्मीको रिडी बजारमा जहाँ पनि पाईने गुडको स्वाद निकै मिठो र स्वादिलो हुने भएकाले पनि गुल्मीको गुड असाध्यै परिचित छ । स्थानीय किसानले आफ्नै बारीमा उत्पादन गरेको उखुबाट नै गुड तयार गर्ने भएकाले पनि यसको स्वाद निकै मिठो छ । गुल्मीका रुरुक्षेत्र र छत्रकोट गाउँपालिकामा उखुको राम्रो उत्पादन छ । गुडले विशेष गरेर थोर्गेली गुडले राम्रो बजार बनाएको छ । उखुको काम र व्यापार बाह्रैमास हुन्छ । उखुबाट रस, खुदो र गुड उत्पादन हुने भएकाले मंसिरदेखि चैतसम्म किसानलाई अर्को काम गर्ने फुर्सद मिल्दैन ।
कफीका लागि पनि गुल्मी परिचित छ । कफी उत्पादनको पकेट क्षेत्र मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाका विभिन्न क्षेत्रमा कफी लगाइएको छ । जिल्लाका अन्य स्थान मालिका, मदाने, इस्मा, धुर्कोट, रेसुङ्गा, गुल्मीदरबार, छत्रकोट, सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा समेत कफी खेती गरिएको छ । जिल्लामा ठूला कफी बगैंचा नरहेको तर कफी खेती छरिएको छ ।
थारुहरूको रैथाने परिकार ढिकरी खान दाङ्ग पुग्नुपर्छ । यहाँ परापूर्वकाल देखि नै ढिक्री, सुंगुरको मासु, लोकल चल्लाको मासु, घोंगी, गंगटा, अनदीको झोललगायत खानाले प्रचलित छ । विशेषगरी थारु समुदायको माघी पर्वमा चामलको पिठोबाट बनाइएको ढिक्री बढी प्रयोगमा आउने गर्छ । चामललाई मसिनो गरि पिसेको पिठोलाई पानीमा भिजाइ डल्लो बनाइन्छ । त्यो भिजेको पिठोको सानो–सानो डेल्लो तयार गरि विभिन्न आकारको बनाइएको हुन्छ । एउटा ठूलो भाँडोमा पानी पकाइन्छ त्यो पाकिरहेको पानीमाथि ढ्कियामा ढिक्री राखेर माथिबाट अर्को ढकियाले छोपेर पानीको बाफमा पकाउने परिकार हो ।
त्यसैगरी रोल्पामा पुग्ने पर्यटकहरूले त्यहाँ लोकल आलुका परिकारको स्वाद नलिईकन फर्किदैनन् । त्यहाँ उत्पादन भएका आलुबाट पकौडा, आलुको आटो, अचार र आलुको दालको स्वादले पर्यटकहरू मख्ख पर्ने गर्दछन् । त्यसैगरी त्यहाँ पुग्ने धेरैले आलु किन्ने गर्दछन् । नेपालगञ्ज पुग्नेहरू रावडीको स्वाद लिन सक्छन् । दूधबाट बनेको विशेष परिकार हो यो । नेपालगन्जको त्रिभुवन चोकका मिठाई पसलमा रावडीको परिकार बिक्री हुँदै आएको छ । आफन्तहरू जाँदा वा आउँदा यो परिकार खुवाउने र कोसेलीका रूपमा लैजाने परम्परा रहेको छ । नेपालगन्जको राबडी काठमाडौँ लगायत देशका ठूला सहर र चारतारे होटलका भान्सामा समेत पुग्छ । नेपालगन्जलाई चाट र राबडीको सहरका रूपमा पनि लिइन्छ । नेपालगन्ज आउने जो कोही राबडीको स्वाद लिएर मात्र फर्किन्छन् ।
रुकुममा कमलको डाँठबाट तयार गरिएको अचार खान पर्यटकको भीड पनि राम्रै हुने गर्दछ । रुकुम पुग्ने जो कोहिले पनि अचारको स्वाद नलिईकन फर्किदैनन । सिजनमा जानेले ताजा कमलको डाँठबाट बनेको अचार त बेसिजनमा पुग्नेले सुकाएर राखिएको अचारको स्वाद लिन गर्दछन् ।दहमा फूल्ने कमलका जरा निकाल्ने र चाना बनाएर अचारको रूप दिने गरिन्छ । पछिल्लो समयमा स्थानीय होटलको भान्सामा कमलको अचार अनिवार्य जस्तै बनेको छ । कमल दहबाट निकालिएका जरा अचारकै लागि स्थानीयले किन्छन् । जरा धेरै हुँदा बिक्री गरेर बाँकी रहेको चाना बनाउन थालिएको हो । ‘दहले मात्र होइन, अब रुकुमकोट कमलको अचारले पनि चिनिन थालेको छ । कमलको अचार स्वादिष्ट हुनुका साथै स्वास्थ्यबद्र्धक पनि मानिन्छ । आयुर्वेदमा कमलको जरा पिसाब र दम रोगका लागि राम्रो औषधि मानिन्छ । माघदेखि वैशाखसम्मै ताजा जराकै अचार पाइने भएपनि अन्य समयमा सुकाएका चानाबाट बनाइन्छ ।