Butwal Today

स्कुलबाट हिँडेका दाजुभाइ घर पुगेनन्, भेटियो शव

३ असार २०८३, बुधबार
अ+
अ-

प्यूठान ।

प्यूठानको नौबहिनी गाउँपालिका–५ मा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएर बेपत्ता भएका दाजुभाइ दुवैको शव फेला परेको छ ।

मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय जोगी पनेरा खहरे खोला तर्ने क्रममा ७ वर्षीय विमल खत्री र १० वर्षीय मिलन खत्री बगेका थिए । उनीहरू नौबहिनी गाउँपालिका–५ निवासी यामबहादुर खत्रीका छोरा हुन् ।

भाइ विमलको शव मंगलबार साँझ नै फेला परेको थियो भने दाजु मिलनको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

खहरे खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका दुवै बालक नौबहिनी गाउँपालिका–५, काँटेस्थित श्री जनता प्राथमिक विद्यालयका विद्यार्थी थिए । विमल कक्षा १ मा अध्ययनरत थिए भने मिलन कक्षा ३ मा अध्ययनरत थिए ।

विद्यालयबाट घर फर्किरहेका दुई बालक खोलाले बगाएको सूचना मंगलबार साँझ करिब ६ः३० बजे वडा सदस्य कुलबहादुर खत्रीले प्रहरीलाई दिएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी डार्मीबाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय लुङबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा पाँच जनाको टोली खोजी तथा उद्धारका लागि खटिएको थियो ।

घटनास्थल प्रहरी चौकी डार्मीबाट करिब ६ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

एकै घटनामा दुई नाबालक छोराको मृत्यु भएपछि खत्री परिवार शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?