Butwal Today

निश्कल राई भन्छन् : प्रधानमन्त्रीलाई पसलमा चिया पिउन समय छ, किसानको समस्या बुझ्न छैन

३ असार २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै चिया पसलमा गएर चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा उनले भने- ‘प्रधानमन्त्रीज्यू दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त हुनुहुन्छ। सामाजिक सञ्जालमा उहाँ चिया पसलमा गएर चिया पिएको देखिनुहुन्छ, तर चिया उद्योग र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएन।’

चिया क्षेत्रले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गरेर अर्थतन्त्रमा ठुलो योगदान दिँदा पनि सरकारले वास्ता नगरेको बताएका छन् ।

छिमेकी देश भारतले चिया निर्यातमा नयाँ झन्झटिलो मापदण्ड तेर्स्याउँदा इलामका चिया उद्योगी र किसान मारमा परेको उनको भनाइ छ । गुणस्तर परीक्षणको नाममा भारतले लगाएको नयाँ प्रावधानका कारण इलामका ८३ वटा चिया कारखाना तीन दिनदेखि ठप्प भएको राईले बताए ।

भारतीय चियाँ बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ,’ राईले भने, ‘उनीहरूको मापदण्डभित्र नपरे चियाँ नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ । जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन् । तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन । यो योसँग सातौं पटक भयो ।’

उद्योग बन्द हुँदा किसानले टिपेको हरियो चियापत्ती खेर गइरहेको, मजदुरको रोजगारी गुमेको र उद्यमीहरूले बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्था सृजना भएको राईले बताए ।

सांसद राईले तत्काल समस्या समाधानका लागि चिया निर्यात खुलाउन तत्काल जीटुजीको पहल गर्न कूटनीतिक अभ्यासमार्फत चिया निर्यातको दीर्घकालीन समाधान खोज्न नेपालमै चिया परीक्षण ल्याब निर्माणको प्रक्रिया अघि बढाउन र तेस्रो देशमा चियाको बजार सुनिश्चित गरेर निर्यातको नयाँ बाटो खोल्न पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?