© 2026
बुटवल । बर्दियाको बाराबर्दिया नगरपालिकाले आफ्नो क्षेत्रभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा दुई फर्मलाई ४२ लाख ७६ हजार रुपियाँ जरिवाना गरेको छ ।
नगरपालिकाले मधुवन नगरपालिका–९ मा सञ्चालित नुरी स्टोन इन्डस्ट्रिज प्रालि र बाराबर्दिया नगरपालिका–२ स्थित लक्ष्मी बालुवा प्रशोधन केन्द्र लाई संयुक्तरूपमा उक्त जरिवाना गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार बबई नदीको बाराबर्दिया क्षेत्रभित्र ठेक्का सम्झौता नभएको स्थानबाट नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएपछि कारबाही गरिएको हो । मधुवन नगरपालिकाले कुमराघाट क्षेत्रमा उत्खननका लागि ठेक्का दिएको भए पनि सम्बन्धित फर्महरूले सीमा मिचेर बाराबर्दिया क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अनुगमनका क्रममा फेला परेको थियो ।
जरिवाना रकममध्ये उत्खननमा प्रयोग गरिएका एक्स्काभेटर र टिप्परका लागि चार लाख रुपियाँ, नगरपालिकाको स्वीकृति बिना उत्खनन गरेको अभियोगमा दुई लाख रुपियाँ तथा उत्खनन गरिएको नदीजन्य पदार्थको राजस्वबापत ३६ लाख ७६ हजार रुपियाँ निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।
बाराबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुले एक स्थानीय तहमा ठेक्का सम्झौता गरेर अर्को स्थानीय तहको क्षेत्रभित्र उत्खनन गर्नु कानुन विपरीत भएको बताउँदै यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए ।
नगरपालिकाका अनुसार तोकिएको जरिवाना रकम सम्बन्धित फर्महरूले राजस्व खातामा दाखिला गर्ने प्रक्रिया सुरु गरिसकेका छन् । लक्ष्मी बालुवा प्रशोधन केन्द्रका सञ्चालक दामोदर अधिकारीले नगरपालिकाको निर्णयअनुसार सम्पूर्ण रकम बुझाउने तयारी भइरहेको बताए ।
स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिए पनि स्वीकृत क्षेत्र र परिमाणभन्दा बढी उत्खनन हुने गुनासो बढिरहेका बेला बाराबर्दिया नगरपालिकाको यो कारबाहीलाई स्रोत–साधनको संरक्षण र राजस्व चुहावट नियन्त्रणतर्फको कदमका रूपमा हेरिएको छ ।