© २०२३
बुटवल, २१ माघ ।
लागूऔषध दुब्यर्सनी सम्बन्धी रोकथाम, अन्तरक्रिया र सचेतना कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देही, बुटवल उपमहानगरपालिका र प्रहरी चौकी श्रवणपथ, बुटवलको संयुक्त आयोजनामा सोमबार लागू औषध रोकथामसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेखी अर्यालले लागू औषध दुब्यर्सनीको समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताईन । प्रहरी प्रशासनको प्रयासबाटमात्र यो सफल नहुने भन्दै समुदायका सबै पक्ष यस विषयमा गम्भिर बन्न आग्रह गरिन ।
कार्यक्रममा सहभागीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक धर्मराज खत्री र वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुङ्गानाले सहजिकरण गरेका थिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक धर्मराज खत्रीले लागू औषध नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउदै अवैध लागू औषध कारोबारबारे समयमा नै प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुङ्गानाले लागू औषधबारे प्रकाश पार्दै यसको दुष्प्रभाव र रोकथामका उपायहरूबारे जानकारी दिए ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका जिल्ला अध्यक्ष खड्ग बहादुर खड्काले युवाहरूमा लागू औषधको प्रयोग न्यूनीकरण गर्न शिक्षा, अभिभावकीय निगरानी र समुदायस्तरबाट पहल आवश्यक रहेको बताए । कार्यक्रमबाट सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, श्रवणपथ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खगेन्द्र पराजुली, बुटवल उपमहानगर पालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, संघका महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेलले ब्यवसायीक हकअधिकारसंगै समुदायमा सचेतनाका महत्वपूर्ण कार्यक्रममार्फत संघबाट उदाहरणीय काम भएको बताए ।
कार्यक्रममा स्थानीय समुदायका सदस्यहरू, स्वास्थ्यकर्मी, र प्रहरी प्रतिनिधिहरूले भाग लिएको कार्यक्रम संयोजक तथा जिल्ला शाखाका कार्यसमिति सदस्य एकादेव वस्यालले बताए ।