Butwal Today

बाँकेमा ३६ हजार ९ सय ५० किशोरीलाई एचपीभी खोप दिइँदै

२१ माघ २०८१, सोमबार
अ+
अ-

नेपालगन्ज, २१ माघ

बाँकेमा यस वर्ष ३६ हजार ९ सय ५० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ। स्वास्थ्य कार्यालय बाँकेले एचपीभी खोप अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका ३६ हजार ९ सय ५० जनालाई खोप सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको हो। यही माघ २२ गते (भोली) देखी देशभर सञ्चालन हुने एचपीभी खोप अभियानको पूर्वसन्ध्यामा सोमबार स्वास्थ्य कार्यालय बाँकेद्वारा जिल्ला स्थित खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग अन्तरक्रिया तथा अभिमुखीकरण समेत गरिएको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले एचपीभी खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिए। बाँकेका ८ वटा स्थानीय तह मध्ये ४ वटामा पहिलो चरणमा र बाँकी ४ वटा स्थानीय तहमा दोस्रो चरणमा खोप अभियान सञ्चालन हुने उनले बताए।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार माघ २२ गतेदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन हुनेछ। यी ४ वटा स्थानीय तहका २४ हजार ५ सय ८९ जना किशोरी तथा बालिकालाई उक्त खोप दिइनेछ। यस्तै माघ ३० गतेदेखि फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुरका १२ हजार ३ सय ६१ जनालाई खोप दिने कार्यक्रम रहेको श्रेष्ठले बताए। उनका अनुसार खोप अभियान सञ्चालनका लागि जिल्लाभर ५ सय २४ वटा खोप केन्द्र स्थापना गरिएको छ। अभियान सफल पार्नका लागि ५ सय २४ जना स्वास्थ्यकर्मी तथा १ हजार ४८ जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

सो क्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले यो खोप नयाँ नभई सन् २००६ मा नै चीनमा बनेको र ५६ भन्दा बढी देशहरूमा प्रयोग भइसकेको जानकारी दिए। यौन सम्पर्क हुनुभन्दा अघि खोप लगाउँदा बढी प्रभावकारी हुने भएकाले सरकारले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी तथा बालिकालाई खोप लगाउन लागेको उनले बताए। विशेषगरी यौन सम्पर्कका माध्यमबाट एचपिभी भाइरस संक्रमणका कारण पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहेको उनले सुनाए।

‘पाठेघरको मुखको क्यान्सर हुनुभन्दा ८÷१० वर्ष अगाडि शरिरमा केही परिवर्तन आउँछ, त्यही लक्षण अनुसार पाठेघरको मुखमा पछि क्यान्सर देखा पर्छ,’ डा. पाण्डेले भने। कतिपय क्यान्सर रोग लागेको अन्तिम अवस्थामा थाहा पाइने भएपनि पाठेघरको मुखको क्यान्सरको लक्षण अगाडि नै देखा पर्ने उनले बताए।