© २०२३
चन्द्रौटा, २१ माघ ।
पूर्व राज्य मन्त्री ईश्वर दयाल मिश्रले अवधी संस्कृतिको आफ्नै छुट्टै पहिचान रहेको बताएका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर–७, कुशहवामा भएको अवधी भाषा सांस्कृतिक संरक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अवधी भाषा र संस्कृतिको संरक्षणमा सबैको भूमिका आवश्यक बताउँदै संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्नुपर्नेमा उनले जोड दिए । अवधी क्षेत्रको सांस्कृतिक विविधताको महत्वको बारेमा जनाउँदै अवधी भाषाका गीत–संगीत, परम्परागत भेषभुषा र सामाजिक रीतिरिवाजलाई पुस्तान्तरण गर्न जरुरी रहेको बताए । नयाँ पुस्तालाई अवधी भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न पूर्व मन्त्री मिश्रले अनुरोध गर्दै यसलाई शिक्षा र मिडियामा समेत स्थान दिन खाँचो देखिएको उनले बताए ।
यसैबीच महाराजगञ्ज नगरपालिका–७ का वडा अध्यक्ष रामरूप बढाईले अवधी समुदायका सबै वडाहरूले भाषा र संस्कृति प्रवर्द्धनका लागि विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको बताए । भाषा र संस्कृति संरक्षण गर्न सरकारको पनि उत्तिकै दायित्व भएको बताउँदै स्थानीय तह सदैव तयार रहेको उनले प्रतिबद्धतासमेत जनाए । अवध जागरण मिडियाले अवधी भाषा, कला र संस्कृति संरक्षण अभियानमा लागेको छ । गत वर्षदेखि सक्रिय रूपमा निरन्तरता दिँदै अवधी सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका लगायतका विभिन्न अवधी समुदायमा अवध जागरण मिडियाले भाषा, कला र संस्कृतिलाई जगेर्ना गर्ने र प्रचारप्रसारमा टेवा पु¥याउने उद्देश्यले विविध अवधी कार्यक्रम गर्दै आएको छ ।
अवध जागरण मिडियाका सञ्चालक निरहु यादवले मातृ भाषा अवधी, कहरवा, कजरी, चनैनी, बिरहा, झर्रा, विवाह गीत, सोहर, अहिरवा तिलक गीत लगायतका परम्परागत गीत–संगीतहरू अवधी समुदायबाट लोप हुन लागेको बताउँदै यसको संरक्षण र प्रवर्द्धनका लागि जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको जनाए । मातृभाषा, भेषभुषा, रहनसहन, रितिरिवाज, सांस्कृतिक परम्परा अमूल्य पहिचान भएको बताउँदै तीनै तहका सरकारले ध्यान दिन आवश्यक रहेको बताए । उनले आफ्नो पहिचान नै नभएपछि अस्तित्व नै धरापमा हुने हुँदा भाषा र सांस्कृतिक परम्परागत चलि आएको विविध पहिचानको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
शनिबार अवध जागरण मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा विशेष आकर्षण अवधी भाषाका विभिन्न लोक गीतहरूको प्रस्तुत गरिएको थियो । कहरवा, कजरी, चनैनी, बिरहा, झर्रा, विवाह गीत, सोहर, तिलक गीत लगायतका परम्परागत गीतहरूको प्रस्तुतिको साथै विवाह गारी, कविता तथा लोक गाथासमेत कलाकारका माध्यमबाट मञ्च दिएको थियो । लोपोन्मुख संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले निरन्तरता दिनुपर्नेमा स्थानीय अवधीबासीले अनुरोधसमेत गरेका छन् ।
