© २०२३
बुटवल, २० कात्तिक ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि रुपन्देहीमा जनशक्ति ब्यवस्थापन र मतदान स्थलहरुमा निर्वाचन सामग्री पु¥याउने काम सुरु भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र लगायतका मतदानका लागि आवश्यक सामग्रीहरु ब्यवस्थित र सुरक्षित ढंगले मतदान केन्द्रहरुमा पु¥याउने काम सुरु भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ ।
निर्वाचन क्षेत्र र मतदाता संख्याका आधारमा आवश्यक मतपत्र लगायतका सामग्रीहरु सुरक्षित र ब्यवस्थित ढंगले मतदानस्थल र मतदान केन्द्रहरुमा पठाउने प्रकृया सुरु गरिएको सहायक प्रमुख निर्वाचन अधिकृत शोभाकर खरेलले बताए । कुल ५ वटा प्रतिनिधि सभातर्फ र १० वटा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा निर्वाचन सम्पन्न गराउन ५ हजार ६ सय ३१ जनशक्ति ब्यबस्थापन गरिएको खरेलले जानकारी दिए ।
कुल ६ लाख ३८ हजार ९ सय ५२ मतादाता संख्या रहेको रुपन्देहीमा २ सय ८ मतदान स्थल, ७ सय २ मतदान केन्द्र र ५ वटा अस्थायी मतदान केन्द्र रहेको बताउदै सहायक निर्वाचन अधिकृत खरेलले ७ सय २ मतदातदान अधिकृत, ७ सय २ सहायक मतदान अधिकृत, ३ हजार ५ सय १० सहायक कर्मचारी, ७ सय २ सहयोगी कर्मचारी परिचालन गरिने बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला जनशक्ति समन्वय समितिले उपलब्ध गराएको जनशक्ति सबै निर्वाचन क्षेत्र र मतदान केन्द्रहरुमा खटाउने ब्यवस्था गरिएको पनि खरेलले जानकारी गराए । यी कर्मचारीहरुलाई केही दिनमै नाम प्रकाशन गरी निर्वाचन सम्बन्धी तालिमको ब्यवस्था गरिने पनि उनले बताए ।
जिल्लाका विभिन्न स्थानमा रहेका ५ वटा अस्थायी मतदान केन्द्रमा मतदाता परिचय पत्रका आधारमा सेना, प्रहरी, म्यादी प्रहरी, कैदीबन्दी र कर्मचारीले मतदान गर्न पाउने ब्यवस्था मिलाइएको र ती केन्द्रहरुमा ३ जनाका दरले कर्मचारी ब्यवस्थापन गरिएको जानकारी समेत अधिकृत खरेलले दिएका छन् । उनीहरुले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
कुल मतदाता मध्ये पुरुष ३ लाख २७ हजार ४ सय ३३ र महिला ३ लाख ११ हजार ५ सय ११ जना रहेको पनि अधिकृत खरेलले बुटवल टुडेलाई जानकारी गराए । खरेलका अनु्सार जिल्लामा सुरक्षाकर्मीसहित २ हजार ३ सय ६० जना म्यादी प्रहरी पनि खटिने छन् ।