© २०२३
काठमाडौं, १६ कात्तिक
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् ।
आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए ।
आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए । उनले विप्लव नेतृत्वको नेकपाको नाम नलिई कुनै ’राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र सोहीअनुसार सुरक्षा योजना बनाउने’ विषयमा छलफल शुरु गरिएको बताए।
“जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हुने दंगाहरूको सम्बन्धलाई गम्भीर रूपमा लिएर छलफलमा बसेको पनि छौँ। त्यसैअनुसार सुरक्षा योजनाको पुनरावलोकन गर्छौं र कार्यान्वयन हुन्छ“, उनले भने, “मलाई लाग्दछ– यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइँदैन। यसमा हामी सचेत छौँ।“ न्युज कारखाना