© २०२३
बुटवल, १२ कात्तिक ।
रुपन्देही क्षेत्र नं.४ प्रतिनिधिसभाका उम्मेदवार प्रमोद यादवका भतिजा निकेश यादवको बा ०१–०२ च ६६२९० नम्बरको कारको ठक्करबाट बुटवलमा ६ जना सर्वसाधारण घाइते भएका छन् ।
न्ेपाली काँग्रेसबाट उम्मेदवार रहेका यादवका भतिजा निकेशको उक्त कार रोहित ज्वारचनले चलाएको र ब्याक गरेर आफूहरुलाई ठक्कर दिएको घाइतेहरुले बताएका छन् । कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुदल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा रहेका छन् ।
“हामी कालिकानगर होराईजन चोक नजिकै फूटपाथ छेउँ उभिएका थियौं, एक्कासी चालकले ब्याक गरेर ल्याएको गाडीले ठक्कर दिएर हामीलाई ढलायो”–घाइते मध्ये कुदल श्रेष्ठले बुटवल टुडेसँग भने । विद्युतीय गाडी भएकाले आफूहरुले गाडीको आवाज नसुनेको र एक्कासी ठक्कर दिएपछि आफूहरु घाइते भएको उनले बताए ।
घाइते मध्ये चारजनाको तिनाउ र चौराहा अस्पतालमा उपचार भैरहेको छ भने दुईजना उपचारपछि घर फर्केका छन् । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएको भएपनि अनुसन्धान नगरी जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुनबमोजिम कारवाही हुने अन्यथा घाइतेको उपचार गर्नेगरी दुवै पक्षको मिलापत्र गराइने बताए । घाइतेहरुले यादवले मदिरा सेवन गरेर गाडी चलाएको दावी पनि गरेका छन् । उनले ज्वारचनले गाडी चलाएको भनिएपनि निकेशले भने आफूले चलाएको बताएको उल्लेख गरे ।