© २०२३
बुटवल, १३ भदौ । विद्यालयस्तरमा रहेका प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ रुपन्देहीमा अन्तर विद्यालय फुटसल प्रतियोगिता शुरु भएको छ । एभरेष्ट एण्ड अक्सन एजुकेशन एण्ड माईग्रेसन सर्भिसको मुख्य प्रायोजन, राईट पाथको सहप्रयोजनमा आरके तेक्वान्दो एकेडेमीको आयोजना तथा ईभेन्ट ईन बुटवलक संयोजनमा विहिबारदेखी दुई दिने ईन्टर स्कुल फुटसल प्रतियोगिता शुरु भएको हो ।
तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा भएको उद्घाटन खेलमा तिनाउ बोर्डिङ स्कुलले जनज्योति माबिलाई २–१ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ । जनज्योतिका एल्बिस थापाले खेलमा गोल गर्दै अग्रता लिएको थियो । खेलमा तिनाउका अभिनय जिसि गोल गर्दै बराबरीमा ल्याए भने सचिन थापाले गोल थप्दै खेलमा टिमलाई विजयी बनाए ।
यसैगरि दोस्रो खेलमा अक्सफोर्ड ई बो स्कुलले प्यारामाउण्ट माबिलाई ४—० गोल अन्तरमा पराजित गरेको छ । पहिलो हाफ बराबरीमा रोकिएपनि दोस्रो हाफमा अक्सफोर्डका अस्मित शर्माले ३ गोल तथा शिव खनालले थप एक गोल गर्दै खेल एकतर्फी बनाए । प्रतियोगितामा अस्मित शर्माले पहिलो ह्याट्रिक गर्न सफल भए ।
रुपन्देही फुटबलको उर्वरभुमि भएको भन्दै संयोजक सुशान्त पाण्डेले नया र युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि विद्यालयस्तरको प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगिताको फाईनल खेल शुक्रबार दिउसो हुने उनले बताए । प्रतियोगितामा उपाधि विजेता टिमले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा रुपन्देहीका ३० विद्यालयका टिमले प्रतिस्प्रर्धा गरेका छन ।