© 2026
काठमाडौं। भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको शक्तिशाली चक्रवातका कारण आगामी दिनमा नेपालको मौसमसमेत प्रभावित हुन सक्ने देखिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको जनाउँदै सम्भावित प्रतिकूल मौसमप्रति सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार शुक्रबार बिहान विकसित भएको न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबारसम्म चक्रवातमा परिणत हुन सक्ने अनुमान छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ।
यस मौसम प्रणालीको प्रभावले कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।तर, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।
सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै किसान, पर्यटन व्यवसायी तथा यात्रामा निस्कनेहरूले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्नुपर्ने देखिन्छ।
महाशाखाले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। प्रणालीको अवस्था र नेपालमा पर्न सक्ने प्रभावबारे आवश्यकताअनुसार थप सूचना जारी गरिने पनि महाशाखाले स्पष्ट पारेको छ। सम्भावित जोखिमबाट जोगिन मौसमसम्बन्धी आधिकारिक सूचना र पूर्वानुमानलाई आधार मान्न विभागले आग्रह गरेको छ।