© 2026
काठमाडौं। भारतको बिहार राज्यस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा भएको विस्फोटमा पति–पत्नी र उनीहरूकी छोरीसहित सात जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सिवान जिल्लाको आलमपुर गाउँमा रहेको एक घरमा विस्फोट भएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्कर र हिन्दुस्तान टाइम्सका अनुसार विस्फोटबाट घरको ठूलो भाग भत्किएको छ भने भग्नावशेष सडकसम्म पुगेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त घरमा पटाका उत्पादन गर्ने अनुमति प्राप्त कारखाना सञ्चालनमा रहेको थियो। विस्फोटका बेला घरमा परिवारका सदस्यसहित अन्य व्यक्तिहरू पनि उपस्थित थिए। प्रहरीका अनुसार पटाकामा विस्फोट भएपछि घरमा भण्डारण गरिएका अन्य पटाकामा समेत आगो सल्किएको थियो। त्यसपछि लगातार विस्फोट भएका थिए। स्थानीयका अनुसार करिब दुई घण्टासम्म बीचबीचमा विस्फोटको आवाज सुनिएको थियो।
विस्फोटको तीव्रताका कारण घरको अर्को भागसमेत भत्किएर सडकमा खसेको थियो। घटनापछि सिवानका जिल्ला अधिकारी विजय प्रकाश मीना र प्रहरी प्रमुख भरत सोनीसहितको टोली घटनास्थल पुगेको थियो।जिल्ला अधिकारी मीनाका अनुसार मृतकका शव क्षतविक्षत अवस्थामा फेला परेका थिए। शवका केही भाग छुट्टाछुट्टै अवस्थामा रहेकाले मृतकको पहिचान गर्न कठिनाइ भएको उनले बताएका छन्।
स्थानीयका अनुसार मोहम्मद अमिरुद्दिन मियाँको घरमा पटाका उत्पादन भइरहेको थियो। उनी पटाकाको कारोबारमा संलग्न रहेको बताइएको छ।घटनामा सुरुमा चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भए पनि पछिल्लो विवरणअनुसार मृतकको संख्या सात पुगेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।