© २०२३
प्युठान, ३० साउन ।
व्यवसायीक रूपमा टमाटर खेति गरेका प्यूठान नगरपालिका ६ माझकोटका किसान टमाटरमा रोग लागेपछि चिन्तित भएका छन् । लटरम्मै फलेर पाक्न थालेको टमाटरमा रोगलागेर कुहिएपछि उनीहरूमा आम्दानी घट्ने चिन्ता बढेको हो । माझकोटस्थित माझपोखरी, बह«ापाती, मैदान, बर्बोट, भद्रेपाँटा लगायतका स्थानका दुई दर्जन बढि किसानले लगाएको टमाटरमा नोक्सानी भएको छ । दाना पहेलो भएर कुहिएपछि किसानले मलखादमा फाल्ने गरेका छन् ।
१६ रोपनी क्षेत्रफल जग्गामा लगाएको टमाटर दाना पहेलो भएर कालो हुँदै कुहिने समस्या देखिएको माझपोखरीका किसान तिलकबहादुर गुरुङले बताए । उनले ६ रोपनी आफ्नो र बाँकी जग्गा वार्षिक ५६ हजार रूपैयाँ भाडा तिरेर व्यवसायिक टमाटर खेती गर्दै आएका छन् ।
‘टमाटरमा रोग लाग्दा दैनिक १० जना मजदुरको पारिश्रमिक र लगानी खेर गएर नउठ्ला की भन्ने चिन्ता छ,’ गुरुङले भने,‘गत वर्ष पनि यस्तै समस्या भएको थियो ।’ गत वर्षको घाटा यस वर्ष उठाउने योजनामा बनाएकोमा यस वर्ष पनि रोग लागेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको उनले बताए । गत वर्ष ६ लाख रूपैयाँ बराबरको टमाटर विक्री भएकोमा यस वर्ष विक्रीका लागि तयार हुन लागेको टमाटर टिपेर मलखादमा फाल्न परेको उनले गुनासो गरे । यस्तै माझपोखरीमा ५ रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आएकी अर्की किसान सिर्जना गुरुङले गत वर्ष देखि टमाटरमा रोग देखिन थालेपछि किसान समस्या परेको बताइन । नियन्त्रणको उपाय थाहा पाउन नसकिएको उनले गुनासो गरिन । ‘गत वर्ष देखि टमाटरमा रोग देखिन थालेको हो’, उनले भनिन्, ‘समस्या बालीमा हो, वा माटोमा हो थाहा पाउनै सकिएन ।’ टमाटरमा रोग देखिन थालेपछि किसानहरूले प्यूठान नगरपालिकाका कृषि प्राविधिक र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई प्यूठानमा खवर गरेका थिए ।