© २०२३
दाङ ।
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक सार्वजनिक सुनुवाइ गरेको छ । उपमहानगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना, कार्यक्रम, आयव्यय बारे जानकारीसहित नगरबासीका प्रश्न जिज्ञासा सम्बोधन गर्न घोराहीमा सार्वजनिक सुनुवाइ गरेको हो ।
घोराही उपमहानगरको आयोजना तथा समाजका लागि संचार पैरवी नेपालको सहजीकरणमा भएको कार्यक्रममा पालिकाले आर्थिक वर्ष २०८०–०८१ मा शंशोधित बजेट रकम २ अर्व ६ करोड ४३ लाखमा अधिकांश बजेट खर्च भएको जानकारी गराईएको छ ।
सार्वजनिक सुनुवाईमा पालिकाको सूचना अधिकारी भीमबहादुर चौधरीले वर्ष भरी भएका गरेका काम र प्रगति बारे जानकारी गराउँदै चालुतर्फ १ अर्व २४ करोड ६६ लाख ५१ हजार र पूँजीगततर्फ ८२ करोड ५ लाख ९२ हजार विनियोजन भएकोमा सो बजेटमध्ये १ अर्ब ७४ करोड ९६ लाख २२ हजार ९ सय ८ रुपैयाँ अर्थात ८४ दशमलव ६३ प्रतिशत खर्च भएको जानकारी दिए ।
जसमा चालु तर्फ ८७ दशमलव ०९ प्रतिशत र पूँजीगततर्फ ८० दशमलव ९१ प्रतिशत खर्च भएको उनले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास, महिला बालबालिका, कृषि, पशुपालन, उद्धम प्रवद्र्धन, सहकारी, वातावरण तथा विपद व्यवस्थापन, सरसफाईलगायत सेवा प्रवाहका बारेमा भएका काम र उपलब्धी बारे जानकारी गराएका थिए ।
कार्यक्रममा टोल विकास संस्था, विद्यालयका शिक्षक, विद्यार्थी, उपभोक्ता समिति, नागरिक समाज, ज्येष्ठ नागरिक, विद्यालय व्यवस्थापन समितिलगायतको सहभागीता रहेको थियो । सहभागीले पालिकाले पहिलो पाँच वर्षे कार्यकालमा पूर्वाधारका क्षेत्रमा लगानी गरेर काम गरेपनि अब बजारलाई गाउँसम्म जोड्ने ठोस योजना अघि सार्न सुझाव दिएका थिए ।
नागरिकबाट आएका जिज्ञासा एवम् प्रश्नको जवाफ नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सामाजिक विकास महाशाखा अन्तरगत शिक्षा शाखाका अधिकृत नारायणप्रसाद पौडेललगायतले जवाफ दिएका थिए ।