© २०२३
मानव जीवनमा गुरुको महिमा अत्यन्तै ठूलो र महत्वपूर्ण रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश छर्ने गुरुको स्मरण गर्ने र गुरुको महिमा एवम् श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएकोले आषाढ महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमाका रूपमा लिइन्छ । आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो । आषाढ शुक्ल पूर्णिमा व्यास पूर्णिमा हो, यस दिन महर्षि वेदव्यास प्राकट्य भएकाले व्यासदेवको जन्म जयन्ती भनेर भव्यताका साथ मनाउने गर्दछौं ।
आधुनिक शिक्षा प्रदान गर्ने गुरुका तुलनामा पुरानो गुरुकुल शिक्षामा अनेक विद्यार्थी एवं केही गुरुहरूको मात्र संलग्नता रहे तापनि गुरुले सत् शिष्य खोज्ने र शिष्यले सदगुरु खोज्ने अवसर त्यो गुरुकुल आश्रमले, त्यो शिक्षाले त्यस्तो अवसर दिन्थ्यो। शिष्य भोको छ भन्ने चिनेर उसलाई त्यो विद्याको खुराक पाउने ठाउँको बाटो देखाइदिने काम गुरुबाट हुन्थ्यो । त्यो बाटो देखाउने काम गुरुबाट हुन्थ्यो भने सत् शिष्य बनी भनेको गुरुसँग गएर पढ्ने काम शिष्यको हुन्थ्यो । ऐहिक शिक्षा एवं पारलौकिक वेद–वेदान्तादी शिक्षा ग्रहण गरी विद्यामा पारंगत हुन्थ्यो । यहाँ स्मरणीय के छ भने सामान्य गुरुले बाटो देखाइदिए, शिष्य त्यो गुरुसँग गएर पढेर आफूमा गुरुतत्त्व कायम गरेर फर्किएपछि उसको त्यस शिष्यले बुझेको गुरुतत्त्व नै हजारौं शिष्यहरूलाई आलोक छर्ने काममा ऊ पनि लाग्दथ्यो। त्यो विद्या नै सद्विद्या हुन्थ्यो ।
गुरुतत्व त्यही हो, जसले जीवनमा एकपटक पाएपछि त्यो ज्ञानदाता एवं त्यस प्राप्त ज्ञानलाई प्राणभन्दा प्यारो भएको ठान्दथ्यो । ज्ञानदाता गुरुको र त्यस ज्ञानदाता गुरुको आजीवन सम्मान गर्दथ्यो । त्यो प्राप्त आलोकका अगाडि उसका सबै वस्तु मूल्यहीन हुन्थे भने त्यो उसको अमूल्य सम्पत्ति हुन्थ्यो । त्यसको सम्मानमा आफ्नो जीवन लगाएको हुन्थ्यो । यसप्रकारको ज्ञान प्राप्त गर्नु र त्यसको संरक्षणमा जीवन समर्पण गर्नु नै जीवनको व्रत रहन्थ्यो । त्यस्ता व्यक्तिका अगाडि भुक्ति, मुक्ति, ऐश्वर्य आदि आफैं झुक्दथे ।
सनातन धर्म संस्कृतिको परम्परामा गुरुको महत्व र स्थान गरिमामय र अति उच्चतम रहि आएको छ । गुरुले दिने ज्ञान सीप कला र त्यसको मानव जीवन संगको सम्बन्ध एकदमै गहिरो नाता रहि आएकोले गुरुलाई हामी सर्वोपरी मान सम्मान र आदर सत्कार गर्ने गर्दछौं ।
भनिन्छ – “यस्य देवे परा भक्तिर्यथा देवे तथा गुरौ “
जुनप्रकार हामीले आफ्ना आराध्य परमेश्वर इष्टदेव प्रति जति भक्ति र श्रद्धा गरिन्छ, त्यति नै श्रद्धा र भक्ति गुरुप्रति हुनुपर्छ भन्ने उपनिषद्को भनाइ छ ।
गुरु कसलाई भनिन्छ – श्रोत्रिय ब्रह्मनिष्ठ – सबै शास्त्रको निचोडलाई जान्ने एवं तत्वज्ञ जीवन मुक्त महापुरुषलाई गुरु भनिन्छ, अर्थात् अज्ञान र अचेतनाको अँध्यारो्बाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, पथ प्रदर्शक, जसको दर्शन, स्पर्श, भाषण र चिन्तन देखि हाम्रो दुर्गुण दूर भइ शान्ति र दैविक सद्गुणहरुको उदय हुन्छ ।
जसका वचनद्वारा हामी भित्रको सम्पूर्ण शंका र संशयहरुको समाधान हुन्छ र अन्तःकरण शुद्ध भइ जब परमात्माको मार्गतर्फ जाने प्रेरणा मिल्छ, प्रकाश मिल्छ, ज्ञान मिल्छ, सत्मार्ग देखिन्छ, कर्तव्यबोध हुन्छ, ध्येय देखिन्छ, र पारमार्थिक कुरा राम्रो लाग्न थाल्दछ भने वास्तवमा त्यो नै गुरुतत्व हो । त्यो गुरुतत्व जुन महापुरुषबाट प्राप्त हुन्छ, प्रकट हुन्छ, त्यसैलाई गुरु मान्नुपर्छ भन्ने शास्त्रीय भनाइ छ ।
सनातन धर्म संस्कृतिमा गुरु शिष्यको महान परम्परा छ, जसले एक पुस्ता देखि ज्ञान अर्को पुस्ता सम्म पु¥याउँछन्, यसरी नै गुरु शिष्य परम्पराको कारणले ज्ञानको प्रवाह वैदिक कालदेखि मध्यम र वर्तमान काल सम्म पनि अक्षुणरुपमा निरन्तर बगिरहेको छ ।
जुनसुकै धर्म या समुदायको भए पनि ज्ञान र सीप ग्रहण गर्नका लागि गुरुको शरणमा पुग्नै पर्ने हुन्छ, संसार जतिसुकै आधुनिक र ज्ञानहरु जतिसुकै सहज र व्यवसायिक रुपमा उपलब्ध भए पनि गुरु बिना पूर्णरूपमा ज्ञान हुन सक्दैन त्यसैले संसारमा गुरु र गुरुत्वको दीयो अझै बलि रहेछ र आगे पनि बलिनै रहनेछ ।
त्यही गुरुतत्वको ज्ञान र महत्वलाई आत्मसात् गरेर आउँदा पुस्तालाई पनि गुरुको ज्ञान गुरुत्वको महत्व यसरी नै प्रत्येक वर्ष गुरुपूर्णिमाका दिन दर्शाउने गरिन्छ, त्यसकारण सनातन धर्म संस्कृतिमा हजारौं युग बिते पनि गुरुलाई आदर र श्रद्धाका साथ हेर्ने र मान्ने गरिन्छ ।
गुरुलाई सामान्यतया तीन श्रेणीमा विभाजन गरेको पाइन्छ, विद्यागुरु, दीक्षागुरु र सद्गुरु, हामीलाई जसबाट शिक्षा मिल्छ, विद्या पढिन्छ , जुन विषयमा ज्ञान मिल्छ, सीप मिल्छ, लाभ हुन्छ त्यो विद्या गुरु हो ।
जसमा माता, पिता, शिक्षक, आचार्य आदि विद्या गुरु अन्तर्गत आउँछन् ।जसबाट यज्ञोपवीत धारण गरिन्छ ,कण्ठी लगाइन्छ,दीक्षा लिइन्छ त्यो दीक्षा गुरु हो र जसबाट सत्य तत्वको बोध हुन्छ आत्मज्ञान हुन्छ पूर्णज्ञान मिल्छ , त्यो सद्गुरु हो ।
गुकारश्चान्धकारो हि रुकारस्तेज उच्यते ।
अज्ञान ग्रासकं ब्रह्म गुरुरेव न संशय ।।
गु शब्द भनेको अन्धकार , अज्ञान , अविद्या हो भने , रु शब्द भनेको त्यसको विपरीत तेजहो , ज्ञानहो, उज्यालो प्रकाश हो । जुन अन्तःकरणको अँधेरोलाई दूर गराइ उज्यालोरुपी ज्ञानको दीपक बालिदिने लाई नै गुरु भनिन्छ, बाहिरी अन्धकार लाई सूर्यदेवले दूर गराइ दिनुहुन्छ भने भित्री अज्ञानरुपी अन्धकार लाई गुरुदेवले दूर गराइ दिनुहुन्छ । त्यसकारण गुरुको महिमा अपार छ ।
अनेक जन्म संप्राप्त कर्मबन्ध विदाहिने ।
आत्मज्ञान प्रदानेन तस्मै श्री गुरवे नमः ।।
मानिसले अनेक अतीत जन्महरु विताइ सकेका छन् ती जन्महरुमा गरेकोे कर्महरु संस्कारको रुपमा जम्मा भइ रहेका हुन्छन् , ती अनेक जन्मका कर्मरुपी बन्धनमा बाँधिएका मनुष्य लाई तत्वज्ञान द्वारा अर्थात् आत्मज्ञान प्रदान गरेर कर्मबन्धन बाट छुटाई दिने गुरुलाईनै सद्गुरु भनिन्छ ।
गु शब्दस्त्वन्धकारस्यात् रु शब्दस्तन्निरोधत ।
अन्धकार निरोधत्वाद् गुरुरित्यविधियते ।।
यो अन्धकार मायारुपी संसार बाट उज्यालो प्रकाशमय भगवानमा जसले पु¥याउन सक्छ त्यसको नामहो गुरु । हाम्रो पूर्वीय आर्य संस्कृतिमा गुरुलाई ईश्वरको स्थान प्रदान गरिएको छ , गुरु र भगवानमा भेद राख्न हुदैन भनिन्छ, गुरु र गोविन्दको दर्शन संगै भयो भने सर्व प्रथम गुरुलाई बन्दना गरि अनि भगवान लाई ढोग प्रणाम गर्नु पर्छ भन्ने शास्त्रीय मान्यता छ । किनकि गुरुले भगवान संग पुग्ने मार्ग देखाइदिनु भएको हुनाले गुरुलाई प्रथम बन्धना गरिएको हो , त्यसैलेत हामी भन्ने गर्दछौं ः–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे मनः।।
मन्त्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरोर्कृपा ।।
भुक्ति मुक्ति प्रदाताय तस्मै श्री गुरवे नमः ।।
गुरु शब्दको परिभाषा व्यापक र भव्य छ । जति व्याख्यान गरेता पनि अधुरै रहनेछ । हाम्रा पूर्वज ऋषिमुनि हरुको जीवन शैली ,जीवन दर्शन ,विचार पध्दति , उपासना पध्दति र सामाजिक मूल्यमान्यता सहितको तत्वज्ञान प्रतिको चिन्तन मन्थन गर्ने दिनहो गुरुपूर्णिमा । हामीले गुरु मार्फत हासिल गरेको ज्ञान विवेक र शिपले आफ्नो जीवनमा पारेको प्रभाव प्रति स्मरण गरि आभार व्यक्त गर्ने दिनहो गुरुपूर्णिमा । सनातन धर्ममा गुरुशिष्यको महान परम्परा छ , गुरुशिष्यको परम्पराको कारणले नै ज्ञानको प्रवाह अक्षुणरुपमा निरन्तर बगिरहेको छ तसर्थ निर्मल मन देखि गुरुको सेवा गर्नु गुरुले दिएको ज्ञान अनुसारको जीवन यापन गर्नु नै वास्तविक गुरुदक्षिणा हो ।