© २०२३
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि एक महिने साउने मेला शुरु भएको छ । साउन महिना भर सञ्चालन हुने उक्त मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गर्न र पूजा आजाका लागि दिनहुँ श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ ।
रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ती हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अन्जानमा गरेका सम्पुर्ण पापहरू नष्ट हुने धार्मिक विश्वास रहेको छ । साउन महिनाभर रेसुङ्गाको महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरू पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरि पुजाआजा गर्ने गर्दछन ।
यज्ञशाला मन्दिर भित्र सधैभरी अखण्डदीप प्रज्वलन भैरहने भएका कारण श्रद्धालुहरूले यज्ञमण्डपको विभुती लगाउने र त्यसलाई प्रशादको रूपमा सँगै लिएर जाने गर्दछन । रेसुङ्गा क्षेत्र भित्र रहेका सिद्धस्थान, बिष्णुपादुका, लक्ष्मी नारायण, ऋष्यश्रृङ्ग लगायत धार्मिक महत्वका ऐतिहासिक क्षेत्रहरू श्रद्धालुहरूको लागि निकै आकर्षण मानिन्छन । जसका कारण जिल्लावासीहरूका अतिरिक्त पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रूपन्देही, नवलपरासी लगायतका ठाउँहरूवाट श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ ।
साउने सङ्क्रान्तिको दिनदेखि साउन महिनारभर रेसुङ्गा क्षेत्रमा वालवालीकादेखि, युवा र वृद्धवृद्धाहरू पनि एकपटक जसरी भएपनि रेसुङ्गा पुग्नुपर्छ भन्ने मान्यता छ । साउने सङ्क्रान्तिको पहिलो दिन आज बिहानैदेखि महापोखरीमा स्नान गर्न जानेहरूको भीड बढ्दै गएको छ । रेसुङ्गा संरक्षण समितिले यज्ञशाला मन्दिर परिशरमा साउन महिनाभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, श्राद्ध लगायतका विशेष धार्मिक कार्यक्रमहरू समेत आयोजना गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।
विगत वर्षहरूको तुलनामा पक्की कालोपत्रे सडक र उकालो चढ्नका लागि परम्परागत रूपमा निर्माण गरिएका ढुंङ्गाका सिँडीहरूका कारण मानिसहरूलाई रेसुङ्गा पुग्न झनै सहज बनेको छ । सदरमुकाम तम्घाससँग सँगै जोडिएको उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै मनोरम स्थल मानिन्छ ।
रेसुङ्गाको महापोखरी क्षेत्र र मन्दिर परिशर वरिपरि रेसुङ्गा संरक्षण समितिले माछामासु एवं मादक पदार्थ सेवन गर्न र त्यसको बिक्रि वितरणमा रोक लगाएको छ । साउन महिनाभर लाग्ने मेलालाई व्यवस्थीत गर्न संरक्षण समितिले सदरमुकाम तम्घासबाट महापोखरीसम्म आवतजावतका लागि यातायातको सहज व्यवस्थापन मिलाएको जनाएको छ । रेसुङ्गा नगरपािलकाले यस वर्ष ‘जाउँ हिड रेसुङ्गा’ भन्ने अभियान सञ्चालन गरेको कारण पनि विगत वर्षहरूको तुलनामा रेसुङ्गामा जाने श्रद्धालुहरूको संख्यामा उल्लेखनीय रूपमा वृद्धि हुने ‘जाउँ हिड रेसुङ्गा’ अभियानका संयोजक रामजी पन्थीले बताए ।
त्यसैगरि गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि साउने सङ्क्रान्तिको अबशरमा मंगलबार बिहानैदेखि नदीमा स्नान गर्ने पुजापाठ गर्न जाने भक्तजनहरूकोे घँुईचो लागेको थियो । कालीगण्डकी क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा गरि तीन जिल्लाको संगम स्थलको रूपमा रहेको छ ।