© २०२३
बुटवल, २० असार । बुटवलको रात्रीकालिन बजार संचालनमा सुरक्षा चुनौती देखिएको छ । यहाँका ब्यवसायीहरूले रात्रीकालिन बजारमार्फत आर्थिक चलायमानको योजना बुनिरहँदा सुरक्षाको चुनौती देखिएको हो । होटल, रेष्टुरेन्टसहित तोकिएको एक क्षेत्रलाई रात्रीकालिन बजार संचालन गर्ने गरि यहाँका ब्यवसायी, स्थानीय सरकार, प्रहरी प्रशासनको योजना थालेको छ । उज्यालोका लागि बत्ति, सिसिक्यामरा, पर्याप्त सुरक्षाको जनशक्ति ब्यवस्था गर्ने भनिएपनि प्रहरी प्रशासन सुरक्षाको प्रत्याभूति दिन सक्ने देखिँदैन ।
रात्रीकालिन पब र नाईट क्लबमा झैंझगडाका घटनाहरू कम भैरहेको बेला बुटवलको मोन्टेना रेष्टुरेन्टमा बाउन्सर काम गर्ने एक युवाकोछुरा प्रहारबाट मृत्यु भएको घटना बाहिरिएको हो । जेठ ३ गते बुटवलको एक रेष्टुरेन्टमा कार्यरत बाउन्सर रबि थापामगरलाई एक युवाले छुरा प्रहार गरेका थिए । रेष्टुरेन्टको सिसिटिभी क्यामरामा घटनाको सबै विवरण कैद भई अपराधी पहिचान समेत खुल्दा प्रहरी भने अभियुक्तलाई पक्रने तर्फ कुनै चासो नदिएको मृतक थापाका आफन्तहरूको गुनासो छ । घटना घटेको दुई दिनपछि नै ज्यान मार्ने उद्योगमा ठाडो उजुरी दिएको काका गम्भिरसिह थापाले बताए । वडा नं. ६ का किशोर कुवर, वडा नं.२ पुस्पन कार्कीको नाम किटान नै गरेको उनी बताउँछन । ‘एउटा घटना घटेको महिना दिनसम्म पनि घटनाका अभियुक्तहरू पक्रने तर्फ प्रहरीको ध्यान गएन ।’—उनले भने । घाईतेको उपचारमा जोड दिँदा यता प्रहरी भने दोषी पक्रनतर्फ लागेको छैन् ।
मोन्टेनमा बाउन्सरको काम गरेका उनी रातीको समयमा सेवा दिँदै आएका थिए । सोही क्रममा घटनाको राती होहल्ला गरेका युवाहरूलाई हल्ला नगर्न भन्दा नै त्यसलाई गलत तरिकाबाट सोचेर एक्कासी क्याबिनमा बसिरहेका उनलाई छुरा प्रहार भएको काका बताउँछन । ‘हामीले सिसिटिभी फुटेजमा प्रष्ट देख्यौ ।’—उनले भने । बोटल र ग्लासहरूबाट प्रहार गरेको उनले बताए । यसक्रममा पटकपटक प्रहरीलाई खबर गर्दा पनि चासो नदिएको उनले बताए । बुटवलमा १७ दिन उपचारपछि थप उपचारको क्रममा काठमाण्डौ टिचिङमा मृत्यु भयो । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाहीको माग सहित प्रहरीलाई भेट्न गएको उनले बताए ।
घटनाका बारेमा अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । रात्रीकालिन बजार संचालन गर्न ब्यवसायीहरू आन्तरिक सुरक्षामा ध्यान दिन जरुरी रहेको भन्दै त्यही कमजोरी हुदा घटना घटेको उनले दाबी गरे । ‘हामी लागीरहेको छौ ।’—उनले भने । शतप्रतिशत नतिजा दिने गरि लागेको उनले बताए ।
यता राष्ट्रिय युवा संघ नेपाल रूपन्देही जिल्लाले विज्ञप्तीमा बुटवलको सुरक्षामा प्रश्न चिन्ह उठ्ने गरि प्रहरी प्रशासनबाट काम भएका दाबी गरिएको छ । एक युवालाई छुरा प्रहार गरेको सबुतप्रमाण हुँदासमेत घटनाको दोषीलाई पक्रने र कानुनी कारवाही अगाडी बढाउनेतर्फ कुनै चासो नदिएको प्रहरी, प्रशासनलाई आरोप विज्ञप्तीमा लगाईएको छ । छिटोभन्दा छिटो जघन्य अपराधमा संलग्नलाई पक्रेर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग विज्ञप्तीमा गरिएको छ । जिल्ला अध्यक्ष विकास बस्नेतले ढिलासुस्ती र लापरवाही भए संगठन कडा कदम चाल्ने समेत बताए ।