© २०२३
बुटवल, १९ असार । बुटवल उप–महानगरपालिका बन्नु पूर्व दुई वटा गाविस थिए मोतिपुर र सेमलार । पुरानो वस्तीको रूपमा रहेको सेमलार र मोतिपुर क्षेत्र अहिले पनि विकासको दृष्टिकोणबाट पछि परेका स्थान हुन । बुटवल नगरपालिका हुँदाताका बुटवल बजार देखि नजिकै रहेपनि विकासबाट पछाडी परेको यो क्षेत्रमा उपमहानगरपालिकासँग जोडिएपछि विकासका लहरहरू देखिन थालेका छन् । खासगरी सडक पूर्वाधार विकासमा जोड दिएको साविक सेमलार गाविस क्षेत्रमा अहिले फराकिला सडक विस्तार गरिएका छन् ।
पूर्व–पश्चिम राजमार्गको बाइपास सडकको रूपमा रहेको बुटवल योगीकुटी–मोतिपुर, समेलार–कर्साघाट सडक अन्र्तगत कर्साघाट देखि माथिल्लो चम्कीपुर सम्म फराकिलो सडक निर्माण पुरा गरिएको छ । चौराहा बजारको रूपमा पहिचान बनाएको वडा नम्बर १५ को नयाँ पक्की पुलदेखि वडा कार्यालय हिरापुर सम्म अहिले सडक विस्तार गरिएको छ । सडकको दायाँ वायाँ सडक वत्ती सहित कल्भर्ट, फुटपाथ निर्माण गरिएको कारण बर्षौ देखि समस्या भोग्दै आएका स्थानीयहरूले राहात पाएका छन् । सडक चौडा र फराकिलो फुटपाथ अपाङ्गता मैत्री टेक टायल समेत राखीएको कारण दृष्टिविहिनता भएका व्यक्तिहरूको लागि पनि सहज भएको वडा अध्यक्ष तथा नगर प्रवक्ता शिव राना बताउँछन् । उनका अनुसार तामनर सेमलार सडक खण्डको नयाँ पक्कीपुल देखि हिरापुर नाली सम्मको सडक निर्माणको काम अहिले जारीरहेको हो ।जसको केही मिटर सडक पुरा भएको छ ।
१ करोड ४९ लाख ९९ हजार ५ सय ५३ रूपैयाँ लागत अनुमान गरिएको यो सडक निर्माणको जिम्मा १ करोड ५ लाख ७ हजार ५४ रूपैयाँ लगातमा दास निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । जस अनुसार यहि असार मसान्त सम्ममा सडक निर्माण पुरा गर्ने गरी सम्झौता गरिएको हो । बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो सडक गत जेठ १५ गते सम्पन्न गर्ने सम्झौता भएपनि असार मसान्त सम्ममा सक्ने गरी काम भैरहेको छ । केही समय पहिला मुख्य कल्र्भट निर्माणको जिम्मा लिएको कम्पनीले कल्र्भट समयमा नबनाएपछि नगरपालिका वडा कार्यालयले आफैले जोजरमा ताला लगाएर नियन्त्रणमा लिएको थियो । अहिले भने निर्माण कम्पनीले काम धमाधाम गरिरहेको छ ।
निर्माण सम्पन्न भएको सडकको केही मिटरमा रंगरोगन सहितको काम समेत पुरा गरेको कारण चौराह बजार क्षेत्र सहित नवरत्न मावि (पिठीया) बजार जाने सडक सहज भएको वडा सदस्य रमा पौडेल पराजुलीले जानकारी दिईन । यो सडक निर्माण पुरा भएपछि हरेक शुक्रबार बजार लाग्दै आएको पीठीया बजार गर्न जाने जो कोही, नवरत्न मावि सहितका विद्यालयमा जाने विद्यार्थीहरूको लागि पनि सहज भएको छ ।
यसको अलवा सेमलार थारु चौकदेखि उत्तर तर्फको सडक पनि स्तरोन्नति भएको छ । पछिल्लो समयमा दानव नदीमा ३ वटा पक्की पुल तामनर सेमलार, ढवाह–चम्कीपुर, नयाँ गाउँ उजेलापुर पुल निर्माण भएपछि त्यो क्षेत्रमा विस्तारै बस्ती बसोबास गर्नेहरूको संख्या समेत बढ्दै गएको बुटवलउपमहानरपालिका वडा नम्बर १५ का पुर्व वडा अध्यक्ष डम्बर बहादुर भडारी बताउँछन् । उनका अनुसार बुटवलदेखि नजिकै रहेको यो क्षेत्र नयाँ सहरको रूपामा समेत विकास हुन सक्छ । जसको लागि सडक पूर्वाधार विकासमा नगरपालिकाले लगानी गर्नुपर्ने उनको तर्क छ ।à