Butwal Today

सन्दीप लामिछाने वेस्ट इन्डिजमा विश्वकप क्रिकेट खेल्न पाउने

सन्दिप विश्वकप खेल्न पाउने भएपछि नेपाली क्रिकेटका फ्यानहरुमा खुशियाली छाएको छ ।
२८ जेष्ठ २०८१, सोमबार
अ+
अ-

काठमाडौं,२८ जेठ । जारी आईसीसी पुरुष टी २० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो ।

उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।
सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।

साथै, लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराइएको छ।

‘नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन सचिव पारस खड्काले विज्ञप्तिमा भनेका छन् ।

सन्दिप विश्वकप खेल्न पाउने भएपछि नेपाली क्रिकेटका फ्यानहरुमा खुशियाली छाएको छ ।