© २०२३
सुनवल, २५ जेठ ।
पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न नवलपरासी गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधी हनामी वि एफ सी चितवनले हात पारेको छ । सहारा क्लव पोखरालाई ३–१ गोल अन्तरले हराउँदै हनामी चितवनले उपाधि कब्जा गरेको हो । हनामीको जितमा विक्की राईले दुई गोल र विजयी सिंह ठकुरीले एक गोल गरे भने साहाराका लागि सरोज टिटुङ्गले सान्त्वना गोल गरेका थिए । पहिलो हाफमै दुई एकले पछि परेको सहारा क्लव दोस्रो हाफमा दुई गोल अन्तरले पछि परेपछि खेलमा फर्कन सकेन ।
जितसंगै हनामी वि एफ सी ले ५ लाख ११ हजार नगद पुरस्कार हात पारेको छ भने उपविजेता सहारा क्लवले ३ लाख ११ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपाधि विजेता हनामीका जितेश गुरुङ्ग प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै नगद २५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा बिजेतालाई जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
लुम्बिनी प्रदेश सरकार र विभिन्न संघ संस्थाको सहयोगमा राईजिङ्ग स्टार सामुदायिक विकास प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा नेपाल पुलीस क्लव सहित ८ टिमको सहभागिता रहेको थियो । यो प्रतियोगिता नवलपरासीको हाल सम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता रहेको थियो ।