© २०२३
कुनै एक दिनभर इन्टरनेट सेवा अवरुद्ध हुने हो भने तपाईं के गर्नुहुन्छ ? स्टाटिस्टिकाले हालै सार्वजनिक गरेको सर्भेक्षण नतिजा अनुसार मानिसहरूले दैनिक ६ घण्टा ३५ मिनेट इन्टरनेट प्रयोग गर्दछन् । सबै मानिसहरूले आफ्नो काम सकिनासाथ मोबाइल समाईहाल्छन् । इन्टरनेटमै काम गर्नेहरू धेरै छन् । शिक्षा, स्वास्थ्य, उद्योग, कार्यालय लगायत विभिन्न क्षेत्रमा इन्टरनेटमार्फत काम गर्र्ने चलन बढेको छ । कतिपय बाबुआमाले होमवर्क सकेपछि मोबाइल हेर्न दिने शर्तमा वालवालिकालाई काम गराउँछन् । मोबाइल हेर्न पाउने आशामा बच्चाले छिटोछिटो गृहकार्य गर्दछ । खाना खुवाउँदा मोबाइल देखाएर खुवाउने धेरै छन् । पसलमा वा कार्यालयमा बच्चालाई मोबाइल हेर्न दिएर बाबु आमाले काम गर्ने धेरैछन् । शारीरिक मजदुरी गर्नेहरू पनि बच्चालाई मोबाइल हेर्न दिएर आफूले काम गरिरहेका हुन्छन् । यी सामान्य जस्ता ब्यवहारबाट मोबाइलको प्रयोगको लत लाग्न सहयोग पुगेको हुन्छ । सुरू सुरूमा बाबुआमाले नै मोबाइल हेर्न दिन्छन् । आफ्नो ब्यस्तताका कारण बच्चालाई भुलाउनका लागि र आफूलाई झञ्झट नहोस् भन्ने आसयबाट पनि बालबालिकालाई मोबाइल दिने गरिन्छ । पछि बालबालिकामा मोबाइल हेर्ने लत लाग्दछ । त्यसपछि विभिन्न स्वास्थ्य तथा व्यवहारगत समस्या पैदा हुन्छन् ।
सञ्चार प्रविधिमा आएको द्रूत विकासका कारण मोबाइलवा कम्प्युटर वा ट्याब्लेट लगायतका साधनहरूको प्रयोग सञ्चार क्षेत्रमा अत्यधिक भैरहेको छ । बालक, युवा र बृद्ध सबैलाई मोबाइल फोनको लत बसेको छ । यसको सँगसँगै मोबाइल फोनमा अत्याधिक समय बिताउने वानी एक प्रकारले सामाजिक–मनोवैज्ञानिक दुब्र्यसनीका रूपमा देखापरेको छ । वैज्ञानिक रूपमा यस प्रकारले मोबाइल फोनमा लतबसी ब्यवहारगत समस्या आउनुलाई मोबाइल फोन मानिया भन्ने गरिन्छ । विभिन्न प्रकारका मोबाइल सेटहरू र विषयवस्तुका कारण मोबाइल मानिया बढिरहेको छ । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमापनि ७३ प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ । त्यसो त अमेरिकामा ९० प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ र तीमध्ये ५८ प्रतिशत स्मार्ट मोबाइल हुन् । अर्को एक अध्ययनका अनुसार विद्यार्थीको ६.९ घण्टा समय विद्युतीय मसिन अर्थात् मोबाइल फोन वा कम्प्युटरमा बितेको हुन्छ । सन् २०१३ को एउटा अध्ययन अनुसार ४१ प्रतिशत बेलायतीहरू फोनबाट टााढिनुपर्दा रिसाउँछन् भने ५१ प्रतिशतले फोनको लत बसेको बताए । लैंगिक आधारमा तुलना गर्दा ७० प्रतिशत महिला फोनबाट अलग हुनुपर्दा रिसाउँछन् भने ६१ प्रतिशत पुरुषमाा त्यस प्रकारको रिस पाइन्छ । करीव ३० प्रतिशत मोबाइल प्रयोगकर्ताहरूले मोबाइल बिना बाँच्न असम्भवहुने बताउँछन् । मासिनहरू खाँदा, हिँड्दा, गाडी चलाउँदा, कसैसँग कुराकानी गरिरहँदा, बैठक बस्दासमेत मोबाइलमा ब्यस्त पाइन्छन् । एकजना मनोवैज्ञानिकले रक्सी पिएको चालकभन्दा मोबाइलमा कुरा गर्ने चालक ६ गुणा बढी दुर्घटनामा पर्ने सम्भावना हुन्छ भनेका छन । मनोवैज्ञानिकहरूका अनुसार मोबाइल फोनमा अत्यधिक भुल्ने वानी एक प्रकारको कुलत हो र यो कुलत धुमपान वा मादकपदार्थ सेवनभन्दा खतरनाक हुन्छ मोबाइल फोनको प्रयोगका धेरै उपयोगिताहरू छन् । मोबाइल फोनको प्रयोगबाट कुराकानी र सम्बन्ध कायम गर्न सकिने, धेरै माध्यमको उपयोग गर्न सकिने भएकोले एक्लोपना महसुस नहुने र जीवन्त सञ्चारका माध्यमबाट भ्रमहरू निवारण हुने जस्ता मनोवैज्ञानिक आधारहरूबाट समेत मोबाइल फोनको उपयोगिता रहेको छ । त्यसैगरी इन्टरनेटको माध्यमबाट ज्ञानको भण्डारसम्मको पहुँच सुनिश्चित भएको छ । कक्षाकोठामा सिकाइने ज्ञानभन्दा धेरै गुणा बढी ज्ञान इन्टरनेटका माध्यमबाट मोबाइल फोनमा सजिलैसँग उपलब्ध छ । विभिन्न सेवा प्रदायक संस्थाका वेवसाइटमा सामग्री राखिएका छन् । त्यसैगरी वेव टुल्स्को प्रयोग गरी ज्ञान निर्माण गर्न सकिन्छ । अनलाइन कोर्स, मुडल, अनलाइन प्रस्तुति, मोबाइल लर्निंगबाट धेरै फाइदा लिन सकिन्छ । आजकल च्याट जिपिटी, क्वेशनएआइ जस्ता कृत्रिम बौद्धिकता साधनहरूको प्रयोग शिक्षामा बढिरहेको छ । कार्यालयीय अभिलेखीकरण, आर्थिक कारोबार, औषधोपचार लगायत विभिन्न क्षेत्रमा इन्टरनेटमार्फत सञ्चालित सफ्टवेयर र एप्स्को प्रयोग भैरहेको हुन्छ । यी अधिकांश सेवाको सञ्चालन मोबाइल फोनबाट सम्भव छ ।
मोबाइल फोनका धेरै उपयोगिता भएकोले मोबाइल फोनको अत्यधिक प्रयोग बढिरहेको छ । तर, यसले सार्वजनिक स्वास्थ्यमा ठूलो असर परिरहेको छ । मोबाइल फोनले पैदा गर्ने रेडियो फ्रिक्वेन्सी अत्यधिक हुने भएकोले धेरै स्वास्थ्य जटीलताको कारण बनिरहेको छ । आजकल मोबाइल अनिवार्य आवश्यकता बन्नुको सँगसँगै विभिन्न मनोवैज्ञानिक तथा वैयक्तिक स्वास्थ्य समस्या, असुरक्षा, न्यून आत्मबल, दिमागी असन्तुलन, अनियमित निद्रा, घाँटी तथा हातका जोर्नी दुखाई, आँखा सुख्खा हुने, भ्रम, सुनाई तथा गति समस्या र सन्देश वा फोन पाउने पठाउने गर्न नपाउँदा हुने बेचैनी वा रिस र अप्रत्यासित दुर्घटना निम्त्याउने गरिएको छ । विभिन्न अनुसन्धानले विद्यार्थीको मानसिक स्वास्थ्य र मोबाइलको अत्यधिक प्रयोगको सम्बन्ध भएको देखाएका छन् । सन् २०१४ मा गरिएको एउटा अध्ययनले मोबाइल फोनको लतका कारण एक्लोपन, दिग्दारी, कमजोर आत्मसम्मान, अस्वाभाविक र असन्तुलित व्यवहार र मष्तिष्कमै असन्तुलित असर पर्ने देखाएका छन् । इन्टरनेटको अधिक प्रयोग गर्नाले मानसिक असन्तुलन प्रदान हुने र ध्यान दिने, कार्यमा लाग्ने र संवेगात्मक प्रक्रियामा समेत समस्या देखिएको बताएका छन् । यसका साथै सामाजिक सञ्जालको गलत प्रयोगबाट मानिसका सम्बन्ध, पारीवारिक अवस्था र धेरै वैयक्तिक र सामाजिक विकृति र विनासहरू निम्तिएका छन् । जीवनशैलीमा आएको परिवर्तनका सकारात्मक र नकारात्मक असर परेका छन् ।
मोबाइल फोनको प्रयोग गर्दा उत्सर्जन हुने विकिरणबाट भैरहेको मानव स्वास्थ्यको हानी घटाउनेतिर मोबाइल कम्पनीको ध्यान जानु आवश्यक छ । विकीरणको मात्रा कम गर्ने उपायका बारेमा मोबाइल कम्पनीहरूले अनुसन्धनात्मक कार्यमा लगानी बढाउनु आवश्यक छ । अर्कोतिर औषधि विज्ञान समेतले मोबाइलजन्य स्वास्थ्य समस्याको उपचारका सरल र सुलभ विधि पत्ता लगाउनु आवश्यक छ । मोबाइलको विवेकसम्मत प्रयोगका लागि सचेतना जगाउनु अर्को प्रमुख कार्य भएको छ । विद्यार्थी, शिक्षक र अभिभावकहरू मात्र होइन सबै मानिसहरूले मोबाइलले मानिसका स्वास्थ्य र सामाजिक साँस्कृतिक सम्बन्ध जस्ता पक्षमा पार्ने असरको ख्याल गरेर सचेततापूर्वक मोबाइल फोन चलाउनु अनिवार्य भएको छ ।