© २०२३
बुटवल, १५ जेठ। पाल्पामा सम्पन्न प्रथम मणिमुकुन्द कप सेभेन ए साईड फुटबल प्रतियोगिता २०८१ को उपाधि खस्यौली एफसीले चुमेको छ । मंगलबार भएको फाईनल खेलमा खस्यौली एफसीले आयोजक मणिमुकुन्द क्लबलाई पेनाल्टी शुटआउटमा ३—१ गोल अन्तरले पराजित गर्दै खस्यौलीले उपाधि हात पारेको हो । उपाधिसंगै खस्यौलीले नगद ५१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेतामा मणिमुकुन्द भने नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा मणिमुकुन्दका गोबिन्द आले उत्कृष्ट गोलकिपर, खस्यौलीका रोहन राई सर्वाधिक गोलकर्ता, अंकित थापा उत्कृष्ट खेलाडी घोषित भए ।
योसंगै खस्यौलीले यो महिनामा दोस्रो उपाधि जित्न सफल भएको क्लबका अध्यक्ष अमित क्षेत्रीले बताए । ‘खस्यौलीको युवा टिमले जेठ ७ गते रुपन्देहीमा सम्पन्न यु १८ फुटसलको उपाधि चुमेको थियो ।’—उनले भने । विश्वमा नै सबैभन्दा बढी रुचाईने फुटबलको विकासमा सरकार र सरोकारवाला निकायको ध्यान जान नसकेको उनले दुखेसो गरे । युवा खेलाडीहरु अवसरबाट बन्चित हुदा बाहिरिनुपर्ने बाध्यता रहेको भन्दै यसतर्फ सरोकारवाला निकायले समयमा ध्यान दिन जरुरी रहेको उनले बताए ।
क्लबका संरक्षक गोपाल प्रधानले खेल र खेलाडीलाई उर्जा दिने गरि ३ तहकै सरकारबाट नीतिगत रुपमा योजना बनाउनुपर्ने बताए ।
मणिमुकुन्द क्लब, पाल्पाको आयोजनामा तानसेन ७ बाघखोर खेलमैदानमा भएको फाईनल खेल गोलरहित बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा खस्यौलीको जितमा निरज थापा, अंकित थापा र अस्मित शर्माले गोल गरे ।
जेठ १० गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको मणिमुकुन्द क्लबका अध्यक्ष विष्णु बहादुर सूर्यबंशीले बताए ।