© २०२३
पाल्पा, २२ वैशाख । जिल्लामा आगलागी भयावह बन्दै गएको छ । चैत महिनामा केही ठाउँमा मात्र लागेको आगो वैशाख लागेसँगै जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । जंगलमा लागेको आगो नजिकैका बस्तीमा फैलिएपछि जिल्लाको अवस्था थप भयावह बन्दै गएको हो ।
जंगलमा लागेको भीषण आगो बस्तीमा सल्किँदा जिल्लामा दर्जनौं घरगोठ जलेर नष्ट भएका छन्, भने लाखौंको भौतिक क्षति हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयको वैशाख महिनाको १९ गतेसम्मको तथ्यांक हेर्दा जिल्लामा ८१ घरगोठ जलेर नष्ट भएका छन् । जहाँ ३३ घर र ४८ गोठ जलेको प्रहरीले जनाएको छ । यस्तै आगागीबाट तीन जना घाइते भएका छन् भने ६४ पशुचौपया जलेका छन् । बुधबारसम्मको तथ्यांक अनुसार माथागढी गाउँपालिकाका विभिन्न स्थानमा लागेको आगलागीबाट १३ घरगोठ र १९ पशुचौपाय जलेका छन् । जहाँ आगो निभाउने क्रममा एक जना घाइते भएको प्रहरीले जनाएको छ । यस्तै रैनादेवी छहरा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको छ । जहाँ ४ घरगोठ र ४ पशुचौपया जलेका छन् । पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा बुधबार जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २७ घरगोठ र ८ पशुचौपया जल्दा लाखौंको धनमाल नष्ट भएको छ । यहाँका अन्य ठाउँहरूमा पनि यसअघि आगलागी भएको थियो । जहाँ ५ घरगोठ पूर्णरूपमा नष्ट भएका थिए भने १ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै रम्भा गाउँपालिकाका विभिन्न स्थानमा भएको आगलागीबाट २ घरगोठ र २ वटा पशुचौपाय जलेर नष्ट भएका छन् । तिनाउ गाउँपालिकामा पनि आगलागीबाट २ घरगोठ र ९ पशुचौपया जलेर नष्ट भएका छन् । यस्तै तानसेन नगरपालिकाका विभिन्न ठाउँमा आगलागी हुँदा १ घर र १ बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यहाँको श्रीनगर जंगलमा समेत आगलागी भएको थियो । रिब्दीकोट गाउँपालिकामा आगलागी हुँदा एक बाख्रा जलेको छ । यस्तै रामपुर नगरपालिकाको ४ र ५ मा आगलागी हुँदा ९ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिँदा घरगोठ जल्नुको साथै १५ पशुचौपया र ५ सय कुखुरा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । उता बगनासकाली गाउँपालिकाका सामुदायिक वनमा आगलागी भएको छ ।
जंगलमा आगो लागे पनि बस्तीमा नगएकाले कुनै क्षति भने भएको छैन् । जिल्लाका विभिन्न ठाउँमा डढेलो लगाउने १८ जनालाई पहिचान गरी प्रहरीले पक्राउ समेत गरेको छ । जिल्लामा हालसम्म २ हजार ८ सय हेक्टर वनजंगल आगलागी भएको छ । एक महिनामा पाल्पामा १ सय २० स्थानमा आगलागी भएको छ । पाल्पाको सबैभन्दा धेरै तिनाउ गाउँपालिका र कम निस्दी गाउँपालिकामा आगलागी भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।