© २०२३
बुटवल,६ बैशाख । लुम्बिनीमा नव नियुक्त ७ जना मन्त्रीले सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा बिहीबार सांझ मन्त्रीहरुले सपथ लिएका हुन् ।
मुख्यमन्त्री महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
यसअघि चैत २३ गते मुख्यमन्त्रीले एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनैजनाको मन्त्रालय आज मात्रै तोकिएको छ । जस अनुसार आचार्यलाई अर्थ,पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यो संगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी र एमालेका लिला गिरी मुख्यमन्त्री हुंदा १० सदस्यीय मन्त्रिपरिषद थियो । त्यसअघि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुंदा ४ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद थियो । अब मन्त्री बढेसंगै मन्त्रालय फुटाउनुपर्ने भएको छ । एकजना मन्त्री थपिदा मन्त्री, उनको सचिवालय, गाडी, इन्धन आदि खर्च थपिंदा वर्षेनी करोडौं आर्थिक भार राज्यलाई थपिन्छ । महरा चैत २३ गते नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
बिहीबार मुख्यमन्त्री महराले १० सदस्यीय मन्त्रिपरिषद बनाउँदा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका थिएनन् । पछि अधिकारी र उनको दलले मन्त्री बनाउने लिखित सहमति उल्लंघन गरेको भन्दै आपत्ति जनाएपछि मन्त्री नियुक्त गरेका हुन् ।
२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच भएको ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो । तर गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी थपिएपछि जसपालाई एउटा मात्रै मन्त्रालय दिइएको छ ।