© २०२३
सुर्खेत, ४ बैशाख ।
गएको चैत २९ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनमा लागेको डढेलोमा परेका तीनजना बालकको ज्यान गयो । डेढेलोमा परी घाइते भएका तीनजना बालकको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा १० वर्षीय सुलस बुढा, १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको ज्यान गएको हो । गाउँनजिकै रहेको वनमा च्याउ टिप्न गएको वेला उनीहरू डढेलोमा परी गम्भीर घाइते भएका थिए ।
डोल्पामै गत चैत २७ गते ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीनजना सैनिकको ज्यान गयो । डढेलो निभाउने क्रममा चार जना सैनिक घाइते भएका थिए । जसमध्ये तीनजना सैनिकको ज्यान गएको हो ।
पछिल्लो दुई महिनायता कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ ।
कर्णालीमा पछिल्लो दुई महिनाको अवधिमा मात्र ७ जनाले आगलागीमा परी ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार फागुनयता प्रदेशभरका ४० वटा राष्ट्रिय तथा सामुदायिक वनमा आगलागी भएका छन् । कर्णालीमा आगलागीका घटनाबाट वर्सेनि ठूलो मात्रामा जनधनको हुने गरेको छ । तीन वर्षयता कर्णाली प्रदेशभर चार सय ५२ आगलागीका घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।
भौगोलिक विकटता रहेको कर्णालीमा प्राकृतिक विपद् पूर्वतयारीको अवस्था नाजुक छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विपद् शाखा प्रमुख कृष्णबहादुर रोकाया आगलागीका घटना हुन नदिन जनचेतनालाई सशक्त बनाएर लानुपर्ने बताउँछन् । ‘अहिले हामीले गर्ने भनेको सचेतनाका कार्यक्रम नै हो’ उनी भन्छन्, ‘ग्रामीण क्षेत्रमा लापरवाही पनि हुने गरेको छ जसका कारण आगोलागीले ठूलो मात्रामा क्षति गर्ने गरेको छ ।’ सचेतनाको अभावका कारण जहाँ पायो त्यही चुरोटका ठुटाहरु फाल्ने तथा वनमा डढेलो लगाउने जस्ता कार्यहरु भइरहेका छन् ।