© २०२३
बुटवल, १ वैशाख । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) परिसरमा रहेको ५ सय वर्ष पुरानो शितकालिन दरबारको संरक्षण र प्रचारप्रसारलाई प्राथमिकताका साथ अगाडी बढाउने भएको छ । पुरातात्विक महत्व बोकेको यो दरबारको संरक्षण र प्रचारप्रसारका लागि सरकार र पुरातत्व विभागसंग समन्वय गर्ने समितिका अध्यक्ष माधव प्रसाद नेपालले बताए ।
समितिको शनिबार बसेको बैठकमा उद्यान परिसरमा विभिन्न रमणिय स्थलहरु निमार्णमा गुरुयोजना अनुसार अघि बढाउने उनले बताए । भौतिक विकासका लागि स्थानिय, प्रदेश र संघ सरकारको सहकार्यमा काम अघि बढेको उनले बताए । देशकै नमुना फुलबारीको रुपमा चिनाउने गरि सबैको सहकार्यमा अघि बढ्न मद्दत मिलेको उनले बताए ।
तत्कालिन शक्तिशाली पाल्पा राज्य राजा रुद्रसेनका जेष्ठ सुपुत्र मणिमुकुन्दसेनले बि.सं. १५७५ मा पाल्पा राज्यका राजा भई स–साना राज्यहरुलाई एकिकरण गरि पाल्पा राज्यमा समावेश गरेका थिए । नेपाल अङ्ग्रेज युद्धको समयमा फुलबारीमा रहेको दरबार बृटिस सेनाको गोला बारुद्ध द्वारा ध्वस्त भएको थियो । सो भग्नावषेश दरबारलाई संरक्षण गरि राखिएको छ । उनैको नामबाट यसको नाम मणिमुकुन्दसेन उद्यान रहन गएको हो । मुकुन्दसेन उद्यान भन्दा केही माथि रहेको नुवाकोट गढीबाट जितगढी किल्लासम्म सुरुङ्ग मार्ग रहेको र तत्कालिन् अङ्ग्रेज शासकहरुलाई परास्त गर्न कर्णेल उजिर सिंहको नेतृत्वको नेपाली फौजले यस सुरुङ्गमार्गको प्रयोग गरेको तथ्य एतिहासिक दस्तावेजमा उल्लेख छ । तत्कालिन समयमा थप प्रचारप्रसार गर्ने गरि काम थाल्न जरुरी रहेको बताए ।
कार्यक्रममा समितिका महासचिव युवराज घिमिरे, राष्ट्रिय उद्यान महासंघका अध्यक्ष तथा समितिका निवर्तमान अध्यक्ष खेम लुईटेल, वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्य, कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठ, समितिका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले सामरिक र ऐतिहासिक महत्वलाई ध्यानमा राखेर निमार्ण गरिनुपर्ने सुझाव दिए ।