© २०२३
बुटवल, २२ चैत । पावर लिफ्टिङ खेल र खेलाडीको विकासका लागि रुपन्देहीमा दोस्रो रुपन्देही जिल्लास्तरिय पावर लिफ्टिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनी र बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही जिल्ला पावर लिफ्टिङ संघको आयोजनामा चैत २३ गते शुक्रबार होटल पौवामा प्रतियोगिता हुने भएको हो ।
शारिरिक सुगठन खेलबाट रुपन्देही राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । यहाँ रहेका खेल सम्बद्ध संस्थाहरुको सहकार्यमा दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको उनले बताए । प्रतियोगितामा बेन्च प्रेस, स्क्वार्ट र डेड लिफ्ट (पुरुष/महिला) खेल हुने उनले बताए । जसमा पुरुष ५९ केजी तौलभन्दा मुनी, ६६ केजी तौल भन्दा मुनी, ७४ तौलभन्दा मुनी, ८३ केजी तौल समुहभन्दा माथि तथा महिलातर्फ ६३ केजी तौल समुहभन्दा तल र ६३ केजी तौल माथि गरि कुल सात विधामा खेल हुने उनले बताए ।
प्रतियोगिताको ओभरअल टाईटल विजेता महिला/पुरुषलाई १५/१५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका सचिव सन्दिप क्षेत्रीले बताए । यसैगरि प्रत्येक तौल समुहका विजेताहरुलाई समेत प्रथम, दोस्रो र तेस्रोलाई नगद क्रमश ५, ३, २ हजार नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कार गरिने उनले बताए । प्रतियोगितामा रुपन्देही जिल्लाका करीब ६० बढी खेलाडीहरुले भाग लिनेछन ।