© २०२३
बुटवल, १३ चैत । छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिता २०८० मा बेष्ट्रन क्रिकेट एकेडेमी र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन । मंगलबार भएको पहिलो खेलमा बेष्ट्रनले बोस्टन क्रिकेट एकेडेमीलाई ६ रन तथा स्टारले मदन भण्डारी एकेडेमीलाई ३ बिकेटले पराजित गरेको हो ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर बोस्टनले ब्याटिङको निम्तो दिएपछि मैदानमा प्रवेश गरेको बेष्ट्रनले २३.५ ओभरमा ११८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि रिशब बेल्बासेले ५८ बलमा ४६ रन जोडे । बोस्टनका दिवस कंडेल र आशिष रानाले समान २—२ बिकेट दिए । मध्यम लक्ष्य पछ्याएको बोस्टन २५ ओभरमा ९ बिकेटको नोक्सानीमा केवल ११२ रनमात्र जोड्यो । बेष्ट्रनको जितमा सागर गैरेले शानदार ४ तथा सुप्रिम कंडेलले १ बिकेट लिए । बोस्टनका आशिष रानाले ३७ बलमा ४१ तथा अरबिन पौडेलले ४१ बलमा २३ रनको योगदान दिएका थिए । खेलमा बेष्ट्रनका सागर गैरे म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा स्टार क्रिकेट क्लबले टस जितेर ब्यटिङको निम्तो दिएपछि मैदान प्रवेश गरेको मदन भण्डारीले केवल ९० रनको लक्ष्य खडा गरेको थियो । मदन भण्डारीका शेहनाज आलमले २९ बलमा १७ तथा संकेत भट्टराईले २५ बलमा १३ रन जोडे । सस्तोमा रोक्न स्टारका निराजन भट्टराईले ३ तथा निरज मौर्याले २ बिकेट लिए । झिनो लक्ष्यलाई स्टारका ब्याट्सम्यानहरुले १९ ओभरमा भेटायो । स्टारका अस्मन थारुले २५ बलमा १९ तथा रन्जित मौर्यले १६ बलमा १७ रनको नटआउट पारी खेले । मदन भण्डारीका अर्जुन करुशले ३ तथा बिशाल भुजेलले २ बिकेट जोडे । खेलमा स्टारका निराजन भट्टराई म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए । प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।