© २०२३
सुनवल,१३ चैत । पश्चिम नवलपरासीमा गएराति परेको असिना सहितको वर्षाले अन्नबालीमा ठुलो क्षति पुगेको छ । अधिकांश किसानको खेतमा पाक्न लागेको गहुँमा असिना पानीले क्षति पुर्याएको हो । गहुँ सहित तरकारी बाली, मसुरो, तोरी, मकैमा पनि वर्षाका कारण क्षति पुगेको किसानहरुले बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा २५ प्रतिशत गहुँबालीमा वर्षाले क्षति पुराएको छ । अझै क्षतिको एकिन विवरण प्राप्त हुन बाँकी रहेको छ । जिल्लाका सातै स्थानिय तहमा वर्षाले अन्नबालीमा नोक्सानी पु¥याएपनि सुनवल र रामग्राममा बढी क्षति पुगेको छ । ज्ञान केन्द्रले विवरण संकलन गरेर पनि राहत वितरण गर्न सक्ने अवस्था नरहेको भन्दै क्षतिको अनुमान मात्रै गर्दे आएको छ । रामग्राम नगरपालिकाले वडामार्फत अन्नबालीमा पुगेको क्षतिको विवरण संकलन गर्न लगाईएको नगर प्रमुख धनपत यादवले बताए । विवरण प्राप्त भएपछि किसानलाई कसरी राहत दिन सकिन्छ भन्ने बारे योजना बनाईने यादवले बताए ।
केहि दिन अगाडि मात्रै जल तथा मौसम विज्ञान कार्यालयले सुनवलमा स्थापना गरेको वर्षामापन केन्द्रका अनुसार गएराति त्यस क्षेत्रमा १ सय ४३ मिलिमिटर वर्षा भएको छ ।
वर्षापछि सुनवल १२ सृजनाटोलको १५ घर सुकुम्बासी बस्तीमा भुमहि खोलामा आएको बाढी पसेको थियो । मानिसहरु घर बाहिर निस्किएर बाँच्न सफल भएपनि अन्नपात बाढीले बगाएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । यसैगरी जर्गाहामा एउटा कार खोलाले बगाएको छ । मानिस भागेर बाँचेपनि कार भने अहिले पनि खोलामा डुबेको अवस्था छ ।