Butwal Today

तराईका जिल्लाहरुमा उल्लासपुर्वक होली पर्व मनाइंदै

१२ चैत्र २०८०, सोमबार
अ+
अ-

बुटवल,१२ चैत । तराई मधेशका जिल्लाहरुमा आज सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई मधेशमा होली मनाउने चलन छ। पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ ।​ यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ। असत्यमाथि सत्यको जित भएको दिनका रुपमा होली पर्व मनाउन  शुरु गरिएको हो ।

काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई मधेशमा भने पूर्णिमाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाइन्छ।

तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका बेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ।

होलीका अवसरमा सरकारले तराई मधेशका जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ। बिहानैदेखि सर्वसाधारणहरु एक आपसमा अबीर लगाएर होली मनाउन शुरु गरिसकेका छन् । विभिन्न संघसंस्थाहरुले पनि होलीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छन् भने ठाउं ठाउंमा सांगितीक कन्सर्टहरु पनि आयोजना गरिएका छन् ।