© २०२३
माननीय श्रीमती ज्यू,
मेरो यो थकित ज्यान उफ ज्यान भन्दा पनि थकित त मेरो मन भएको छ । टुक्राटुक्रा भएको छ । किन टुक्रिएँ म यसरी, किन थकित भएँ यसरी । कसैको वैवाहिक जीवनको झमेलामा नपर्ने म, आज ममाथि पर्दा चुपचाप भएको छु । मलाइ डर लाग्थ्यो कतै हाम्रो सम्बन्धमा पनि बाधा आउने हो कि भनेर । कति बेला सम्बन्धमा पुर्णविराम लागेछ पत्तो नै भएन ।
हजुर त माननीय पर्नुभयो, ए माननीय श्रीमती ज्यू, मैले हजुरलाई जुन दिन धुमधामसँग बिहे गरेर मेरो घर भित्र्याएँ । त्यो दिन मेरो खुसीको पल थियो । त्यति बेलै संकल्प लिएको थिएँ, हजुरलाई कुनै कुरामा रोक्ने छैन । माइतमा हुँदा गर्न नसकेको कुरा मैले गर्न दिने छु भनेर । मेरो सोच ठुलो भयो या हजुरको जवानी ।
मलाई हजुरको सबै कर्तुत थाहा हुँदाहुँदै पनि मौन भएँ, चुपचाप भएँ । किनकी अहिले हामी लोग्ने पीडित छौँ । हात उठाउँदा मर्दाङ्गी भइने, चुपचाप सहँदा नामर्द कहलिने समाजमा छौँ । बिहे गरेको केही वर्षमा नै हजुर मसँग क्षतविक्षत हुने गरी अघाउनुभएछ माननीय ज्यु । त्यसैले त घरमा श्रीमान हँुदाहँुदै परपुरुषसँग लाग्न पुग्नुभएछ । तैपनि समाजको डरले सबै गुपचुप पार्न खोजें । तर हजुरले आफै छरपस्ट पार्नुभयो मेरो हातमा डिभोर्स पेपर छोपाएर । घरमा बाआमालाई दिन नसक्ने समय पनि हजुरको लागि निकाल्ने गर्थे । घरको एक्लो बुहारी हजुरलाई कुनै कुराको कमी थिएन, कमी हुन पनि दिएको थिएन । गुण धेरै खायो भने पनि तितो हुन्छ भन्छन् क्यार, हजुरलाई पनि त्यस्तै भएछ । न त मेरो माया देख्नुभयो न त घरपरिवारको नै । कहाँ देख्नु हुन्छ त नि हजुरलाई माया गर्ने त अरु कोही नै थिए । म त अफिस जाने मान्छे । घरको जिम्मेवारी बोकेको मान्छे । हजुर बाहिर निस्किनु हुन्थ्यो । किन भनेर प्रश्न गर्दा केटीको काम किन भन्नु भन्दै ठाडो उत्तर दिने गर्नुहुन्थ्यो । म हेरिरहन्थे, हजुर खुट्टा बजार्दै बाहिर निस्किनु हुन्थ्यो । आमाबाले मलाइ एकटकले हेरिरहन्थे । म निनाउरो हँुदै आफ्नो कामतर्फ लाग्थें । साँझ ढिला आउँदा बाआमाले सोध्दा ढोका हान्दै भित्र कोठामा गएर मेरो कुरा कसैले बुभ्दैन, मेरो आजादी छिनेको छौ तिमीहरुले भन्दै रडाको मच्चाउनु हुन्थ्यो । रातभरि माइतमा फोन गरेर कुरा लगाउँदै हामीलाई तथानाम गाली दिनुहुन्थ्यो । कोठामा फकाउन पुग्दा उल्टै ममाथि जाइ लाग्नुहुन्थ्यो । फेसबुकमा नारीवादका स्टाटश शेयर हुन्थे । म बहिर सोफामा अडेस लगाएर ती पोष्ट हेर्थे । हरेक कमेन्टमा पुरुषलाई मात्रै दोषी बनाएको पाउँथ्यो । भित्री कुरा के हो त्यो त म आफुले भोगेको मान्छेलाई थाहा छ । यदि नारीको जस्तै पुरुषको पनि कानुन बनेको भए ? नारी हकहितका जस्तै पुरुष हकहितका पनि आवाज उठ्ने भए लाखौँको सङ्ख्यामा पुरुषका फाइलहरु अदालतमा पेश हुन्थे होला । यही कुरा मैले बाहिर कसैलाई भन्ने हो भने म गलत ठहरिन्छु । त्यसैले त मैले मेरो श्रीमती ज्यूलाई जित्न दिएको छु ।
यस्तै सोंच्दा सोच्दै मेरो हरेक रात बित्थ्यो । न त मेरो रुने ठाउँ थियो, न त आफ्नो पिडा सुनाउने ठाउँ । खै के दिन सकिन हजुरलाई, के कुराले भरिपूर्ण पार्न सकिन । परपुरुषसँग विस्तारामा पुग्न सक्ने हुनुभएछ । मैले त शारीरिक सुख पनि दिएकै थिएँ, भौतिक सुख पनि दिएकै थिएँ । समाजको कुरा नसुनेर हजुरको सबै रहर पूरा गरेको थिएँ । मलाई त हजुर कोमल फुल लाग्थ्यो । श्रीमती हो यसलाई पाउमा राख्नु पर्छ, कुल्चिनु पर्छ, निचोर्नु पर्छ भन्ने सोंच कहिले आएन । सधै छातीमा सजाएर, टाँसेर मात्रै राखिरहें । यदि हजुरले पनि मेरो जस्तै सोंच राखिदिएको भए, मेरो सिन्दुर र पोतेलाई धुलो र मामुली धागो नमानेको भए । अरुको स्वार्थी माया देख्ने ती नजरले मेरो निस्वार्थ माया देखेको भए । रातमा अश्लिल म्यासेज र कल आउँदा पनि मुखमा टेप लगाएर बसेको मान्छे हो । यति हँुदा पनि मैले सबै मिलाउन खोजेको थिएँ तर हजुरले त आफ्नो जोवान लिलाम गर्नुभयो । भैगो श्रीमती ज्यू, यदि म यो समाजको अघि गलत ठहरिन्छु भने पनि मलाई मन्जुर छ । मैले धेरै कुरामा सम्झौता गरिसकें, हजुरले त्यो सम्झौताको पनि हद पार गरिसक्नुभएको छ । मलाई चाहिदैन यो सम्बन्ध । जान सक्नुहुन्छ पैसा, गरगहना के छ सबै लैजानुस्, तर मलाई आजाद छोडिदिनुस् । न त म हजुरसँग कराउन सक्छु न त हात उठाउन नै । मेरो नजरमा सबै नारी देवी घरमा पुज्ने देवी हुन् । तर मलाई हजुरजस्तो रोगी किरा चाहिंदैन । हजुरको मन लाग्दी गर्नुस् ।
जय होस् मेरो माननीय श्रीमती ज्यू ।