© २०२३
बुटवल, २६ फागुन । रुपन्देहीमा रगत अभावलाई रोक्न थालनी गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखाको नियमित सप्ताहब्यापी कार्यक्रम ११ वर्ष पुगेको छ । फागुन २६ गते शनिबार १३२ औ शनिबार रक्तदान सम्पन्नसंगै यो ११ वर्ष पुरा भएको हो । यो अवधिमा करीब ४६ हजार युनिट रगत संकलन गरेको शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको दाबी छ । ‘हामीले पहिलो वर्ष ३१५ युनिट संकलन गरेका थियौ ।’–उनले भने । रुपन्देही जिल्लामात्र नभई देशभर नै रगत अभावमा रहेको बिरामीहरुलाई संजाल गठन गरि सहज रगतको आपूर्ति गर्दै आएको छ ।
युवा वर्ग रक्तदानमा अग्रसर हुदा अभियान सफल भएको उनको दाबी छ । समाजमा अझै रक्तदान गर्ने विषयमा धेरै अन्धविश्वासहरु कायम रहेको भन्दै उनले समुदायस्तरमा पुगेर रक्तदान कार्यक्रम र सचेतनालाई निरन्तर अगाडी बढाउदै आएको बताए । विशेष गरि रगतको माग महिलाहरुको उपचार बढि हुने गरेको छ । रक्तदाता भने पुरुष बढी रहेको उनले बताए ।
यो हप्ता कार्यक्रममा पाल्पा माथागढी रुपन्देही सम्पर्क समाज, रारा कृषि सहकारी संस्था, ब्लु कोड एजुकेशन प्रालिले नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखालाई सहकार्य गरेको थियो । कार्यक्रममा रक्तदाताहरुलाई पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजका राजन नेपाल, रारा कृषि सहकारी संस्थाका अध्यक्ष भिमकान्त पन्थी, ब्लु कोड एजुकेशन प्रालिका संचालक सुमन घिमिरेले प्रमाणपत्र वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा ६० युनिट रगत संकलन भएको समाजका उपाध्यक्ष उदयराज भट्टराईले बताए ।