© २०२३
बुटवल,२१ फागुन । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको ‘लोरिएट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित भएको छ । सम्मेलन स्थगितबारे भोलि ११ बजे बस्ने क्याबिनेट वैठकले औपचारिक निर्णय गर्ने स्रोतको भनाई छ ।
अमेरिकी संस्था लोरिएट्स एण्ड लिडर्सको व्यवस्थापन र प्रदेश सरकारको आयोजनामा हुन लागेको शिखर सम्मेलन स्थगित हुने निश्चित भएको लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।
प्रदेश सभा र सत्तारुढ दललाई समेत गुमराहमा राखेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निजी स्वार्थ र जोडबलमा हुन लागेको शिखर सम्मेलनबारे सत्तारुढ दलका सांसद मात्र हैन, सभामुख र प्रमुख विपक्षीले मुख्यमन्त्रीसंग गम्भीर प्रश्नहरु उठाएका थिए । यो सम्मेलन विवादमा परेको र यससंग सम्बन्धित अन्य विषयमा न्युज बुटवलटुडेले लगातार फलोअप समाचार पस्केको थियो ।
सम्मेलनबारे सभामुख तुलाराम घर्ती,सत्तारुढ दलकै सांसद इन्द्रजित थारु, एमाले सांसदहरु, यस्तै संघीय सांसद सुर्य थापाले पनि सम्मेलनले चीनसंगको सम्बन्धमा खलल पुराउने भन्दै स्थगित गर्न माग गरेका थिए । लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले पनि शुरु देखि नै विवादित बनेको शिखर सम्मेलन पछिल्लो बदलिएको सत्ता समिकरणका कारण नैतिकताका आधारमा स्थगित गर्नुपर्ने माग गरेका थिए ।
लुम्बिनी सरकारका मन्त्रीले विविध कारणले शिखर सम्मेलन हुन नसक्ने र अहिलेलाई यो स्थगित नै हुने भयो भने ।
शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले ७ करोड १० लाख रुपैयां रुपैयाँ बजेट छुट्ट्याएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख, नोबेल पुरस्कार विजेताहरू सहित अति विशिष्ट पाहुना लुम्बिनी आउने भनेर प्रचार गरिएको थियो । अति विशिष्ट पाहुनाको सूचीमा भारतमा निर्वासित तिब्बतका धार्मिक गुरु दलाई लामासमेत आउने चर्चा चलेको थियो ।
र चीन विरुद्ध विद्रोह गरेको दिन मार्च १०देखि १२ गतेसम्म सम्मेलन हुने तय भएको थियो । तर यसबारे चीनले गम्भीर चासो राखेपछि मुख्यमन्त्री चौधरीले १० मार्चमा अतिथिहरु आउने दिन भनेर बचाउ गरेका थिए । र पछि यसबारे निरन्तर समाचार आउन थालेपछि सम्मेलनको मिति परिवर्तन गरी मार्च ११ र १२ बनाइएको थियो ।
‘लोरिएट्स एण्ड लिडर्स नामक संस्थाको व्यवस्थापनमा सन् २०१६ मा भारतमा भएको पहिलो शिखर सम्मेलनमा दलाई लामा सहभागी भएका थिए ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा करोडौं खर्च गरेर शिखर सम्मेलन गर्न लागेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले त्यसको औचित्यमा प्रश्न उठाउँदै आएका थिए । प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाको बैठकमा नेकपा एमालेका सांसदहरुले शिखर सम्मेलनको विरोध गरेका थिए ।
नेकपा माओवादी केन्द्र समेत मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शिखर सम्मेलनको तयारीको विषयमा सत्ता साझेदार दलहरुसँग समन्वय र परामर्श नगरेको भन्दै असन्तुष्ट थियो ।
सम्मेलनको प्रचारका लागि र वृत्तचित्र निर्माण गर्न भन्दै सम्मेलनको सचिवालयले टेण्डर विना आफू निकटका व्यक्ति र सीमित सञ्चार माध्यमलाई लाखौं रुपैयां बांडेको थियो ।