© २०२३
बुटवल, १३ फागुन ।
खेलकुदको उर्वरभूमिका रुपमा पहिचान बनाएको लुम्बिनी प्रदेशमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी तीव्र भईरहेको छ । १० वर्षको अन्तरालमा राष्ट्रिय महिला भलिबल कप प्रतियोगिताको तयारी तीब्र चलेको छ । पाल्पा जिल्ला भलिबल संघको आयोजनामा प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवर्द्धन प्रायोजक, नेपाल भलिबल महासंघको संयोजन, पाल्पा जिल्ला खेलकुद विकास समिति र प्रदेश भलिबल संघको समन्वय, रामपुर नगरपालिका संरक्षक, रामपुर उद्योग वाणिज्य संघ प्रबर्द्धन रहेको प्रथम लुम्बिनी महिला भलिबल प्रतियोगिता २०८० को पाल्पाको रामपुरमा फागुन १८ देखि २३ गतेसम्म हुने भएको हो ।
रामपुरस्थित तुल्सी खेल मैदानमा हुने प्रतियोगिताको मैदान तयारी, प्याराफिट निर्माण, टिम दर्ता लगायतका ७० प्रतिशत तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गरी पाल्पा जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ तथा तृतीय ७५ हजार रुपैयाँ र सान्त्वना ३५ हजार रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । विभिन्न उपसमिति गठन गरी तयारी भईरहेको उनले बताए । प्रतियोगिता संचालन गर्न ८४ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, नेपाली आर्मी क्लब गरी ३ विभागिय टिमसहित सातवटै प्रदेशका टिम प्रतिस्पर्धा गर्ने उनले बताए । दर्शकको सुविधाका लागि दुईतर्फ निर्माण भएको प्याराफिट ५ हजार क्षमताको रहेको छ ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले नेपालका अधिकांश स्थानमा खेलिदै आएको यो भलिबल खेल वि.सं. २०७४ सालमा राष्ट्रिय खेल घोषणा भएको बताए । लुम्बिनी प्रदेशमा जनसंख्याको दरका हिसाबमा रामपुर नगरपालिका मात्र जनसंख्या नघटेको पालिका रहेको, सडक संजालमा जोडिएको र उदाउँदो शहरका रुपमा चिनिएको उनले बताए । “हिडेन ट्रेजरका रुपमा रामपुर छ”– उनले भने । रामपुरमा भएको विकासको नयाँ अवस्थालाई चिनाउन सकिने र प्रवर्द्धन गर्न मद्दत गर्ने प्रतियोगिता भएको उनले दाबी गरे ।
लुम्बिनी भलिबल महासंघका उपाध्यक्ष योग गुरुङले भलिबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको लुम्बिनीलाई जगाउने गरी प्रतियोगिता हुन लागेको बताए । पहाडी जिल्लामा भलिबल धेरै खेलिने हुँदा पनि यसको प्रवर्द्धनमा सबैको सहयोग जरुरी हुने उनले बताए ।
कार्यक्रममा प्रतियोगिताको प्रवर्द्धन पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकालले केवल खेल गतिविधिमात्र नभई यो पर्यटन प्रवर्द्धन हुने गरी कार्यक्रम हुन लागेको बताए। विकासलाई बिकेन्द्रिकृत हुने गरी अभियानका रुपमा महोत्सव, प्रतियोगितालाई लिनुपर्ने उनले दाबी गरे । रामपुरमा सेवा उद्योगमा हुने स्वागत, सत्कारलाई समेत भविष्यमा चिनाउने उनले बताए ।
कार्यक्रममा पाल्पा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, नगर खेलकुद विकास समितिका संयोजक कमल सेन, कार्यपालिका सदस्य माया नेपालीले खेलकुदबाट नै रामपुरको पहिचान दिने गरी छनौट हुनु नै गर्वको विषय भएको भन्दै यसलाई सफलतापुर्वक सम्पन्न गर्न सबैको सहयोग र समन्वय जरुरी रहने बताए ।