© २०२३
भैरहवा, ७ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा रुपन्देही जिल्लास्तरीय इन्टर कप क्रिकेट –२०८०’ फागुन ८ गते मंगलबार देखि सुरु हुने भएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा २६ वटा टीमले सहभागीता जनाउने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
फागुन १५ गते मङगलवार सम्म हुने प्रतियोगितामा विजेताले ५० हजार एक रुपैयाँ र उपविजेताले २५ हजार १ रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द म्याचले १ हजार, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय, बेस्ट बलरले २ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै बेस्ट अनुशासित टीमले ट्रफी र प्रमाणपत्र पाउने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । यस खेलबाट हामीले १९ वर्षका मुनिका खेलाडि पनि छनोट हुने भएकाले यो खेल महत्त्व रहेको पनि जानकारी दिए। प्रतियोगिता नकआउट विधिमा खेलाइने गुरुङ्गले बताए ।
साई ग्लोवल एकेडेमी भैरहवाको मुख्य प्रायोजन रहेको यो प्रतियोगिता दोस्रो संस्करणको रुपमा रहेको खेल संयोजक पुनित पोख्रेलले जानकारी दिए ।
रुपन्देही क्रिकेट संघले आफ्नो वार्षिक कार्ययोजना अनुरुप यो वर्ष विद्यालयस्तीय प्रतियोगिता, प्रधानमन्त्री कप पुरुष क्रिकेट र तीनदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको संघका अध्यक्ष हरि बहादुर थापाले बताए । अब संघले रुपन्देही सुपर लिग आयोजना गर्न लागेको थापाले जानकारी दिए ।