© २०२३
बुटवल, ५ फागुन । बुटवलमा सम्पन्न जिल्लास्तरीय अन्तर मावि आधुनिक गायन प्रतियोगिताको उपाधि न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी रिदिमा सिंजालीले जितेकी छन् । रुपन्देहीका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएकी हुन् ।
प्रतियोगिताको छनोट चरणमा फागुन ४ गते ४५ जना प्रतिस्पर्धीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने उक्त प्रतिस्पर्धाबाट २० जना प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका निम्ति छनोट भएका थिए । प्रतियोगिताको अन्तिम चरणमा प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये ग्रीन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुलका विशेष भुर्तेल द्वितीय, अक्सफोर्ड मा.वि.की दीक्षा कुँवर तृतीय, स्कोलार्स होम बोर्डिङ सेकेन्डरी स्कुलकी रेनुका सुनार र इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गानाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिता दीप बोर्डिङ स्कूलले गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारी,विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई,विद्यालयका प्राचार्य टीकाराम न्यौपाने लगायतले विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।