© 2026
काठमाडौँ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘गौँथली’ ले बालविवाह, महिलाको शिक्षा, पारिवारिक त्याग र अटिजमजस्ता सामाजिक विषयलाई केन्द्रमा राखेको छ ।
चलचित्रको कथा झन्डै २५ वर्षअघि डा.भोला रिजालले निर्माण गरेको गीतिकथानक चलचित्र ‘गौँथली’बाट प्रेरित हो । उनले आफ्नी श्रीमती सरला रिजालको जीवन कथालाई आधार बनाएर यो कथा सिर्जना गरेका थिए । सानै उमेरमा विवाह भएपछि अध्ययन रोकिएकी सरलाको सङ्घर्ष र त्यागलाई यस चलचित्रमा प्रस्तुत गरिएको छ ।
यस पटक डा भोला रिजालका छोरा तथा निर्देशक डा। कपिल रिजालले सोही कथालाई संवादसहित नयाँ स्वरूपमा दर्शकमाझ ल्याएका छन् । चलचित्रमा एसइईसम्म पढ्ने सपना बोकेकी एक किशोरीको बालविवाहपछि आउने चुनौती, नयाँ परिवारमा समायोजन र आफ्नो सपना पूरा गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ ।
शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा निर्देशक डा। कपिल रिजालले चलचित्रले मनोरञ्जनसँगै समाजमा अझै विद्यमान यस्ता समस्यालाई उजागर गर्ने बताएका छन् । उनले आफ्नी आमाले परिवार र श्रीमान्को सफलताका लागि गरेको त्यागबाट आफू गहिरो रूपमा प्रभावित भएकाले त्यसलाई चलचित्रमार्फत प्रस्तुत गरेको बताएका छन् ।
बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत डा। कपिल रिजालले यसअघि पनि सामाजिक सन्देश बोकेका चलचित्र निर्माण गरेका छन् । उनको अघिल्लो चलचित्र ‘ह्यारीकी प्यारी’ वीर्यदानसम्बन्धी विषयमा आधारित थियो भने ‘गौँथली’मा अटिजम भएका व्यक्तिको जीवनशैलीसमेत समेटिएको छ ।
चलचित्रमा अभिनेता अरुण क्षेत्रीले अटिजम भएका युवकको भूमिका निर्वाह गरेका छन् । उनले उक्त भूमिका विश्वसनीय बनाउन अटिजम भएका व्यक्तिहरूसँग समय बिताएर उनीहरूको व्यवहार र अनुभव बुझ्ने प्रयास गरेको बताएका छन् ।
मुख्य अभिनेत्री सिम्रन खड्काले आफूले निर्वाह गरेको पात्रको संघर्षले आफूलाई भावुक बनाएको उल्लेख गर्दै चलचित्रले मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने विश्वास व्यक्त गरेकी छन् ।
निर्माता सुमन गिरीले व्यावसायिक मनोरञ्जनप्रधान चलचित्र बनाउन सकिने अवस्था हुँदाहुँदै पनि समाजमा सन्देश दिने उद्देश्यले ‘गौँथली’ निर्माण गरिएको बताएका छन् ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । डा. भोला रिजालको कथामा आधारित चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् ।
निर्देशक डा। कपिल रिजालका अनुसार ‘गौँथली’ केवल एउटा पात्रको कथा मात्र नभई घर, परिवार, त्याग, शिक्षा र आपसी सम्बन्धको प्रतीकात्मक प्रस्तुति हो ।