© 2026
काठमाडौँ । नेपाली फिल्म ‘गौँथली’ ले बक्स अफिसमा आक्रामक कमाइको गतिलाई निरन्तरता दिएको छ । आइतबार दिउँसोसम्म फिल्मले १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
फिल्मको नेट कलेक्सन भने १७ करोड रुपैयाँ पुगेको जनाइएको छ । करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण भएको ‘गौँथली’ ले लगानीको तुलनामा निकै राम्रो व्यापार गरिरहेको छ ।
आइतबार सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ थप बढ्ने अनुमान गरिएको छ । दिनको अन्त्यसम्म फिल्मको कुल ग्रस कमाइ २० करोड रुपैयाँ हाराहारी पुग्न सक्ने अपेक्षा गरिएको छ । फिल्मले दर्शकको साथ पनि निरन्तर पाइरहेको छ । आइतबार दिउँसोसम्म ७ लाखभन्दा बढी दर्शकले ‘गौँथली’ हेरेका छन् ।
पछिल्लो शनिबारसम्मको व्यापारमा ‘गौँथली’ले ‘जारी’, ‘छक्कापञ्जा ४’ र ‘परान’ को कमाइलाई उछिनिसकेको छ । अब फिल्मको नजर ‘१२ गाउँ’ को रेकर्डतर्फ छ । ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘गौँथली’ले आज वा भोलिसम्म उक्त रेकर्ड तोड्ने सम्भावना देखिएको छ ।
त्यसपछि सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा ‘गौँथली’ भन्दा अगाडि ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारङ्गी’ मात्र रहनेछन् । नेपालमा जस्तै विदेशमा पनि ‘गौँथली’ले उत्साहजनक व्यापार गरिरहेको निर्माता सुमन गिरीले बताएका छन् ।
निर्माता गिरीका अनुसार फिल्मले हालसम्म अमेरिकामा २ लाख अमेरिकी डलर, अस्ट्रेलियामा १ लाख अस्ट्रेलियन डलर र दुबईमा ५० हजार दिराम कमाएको छ । त्यस्तै, डेनमार्क, माल्टालगायतका युरोपेली बजारमा फिल्मले २० हजार युरो कमाएको उनले जानकारी दिए ।
क्यानडामा भने फिल्म अर्को सातादेखि प्रदर्शनमा आउने निर्माता गिरीले बताएका छन् । क्यानडामा पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।