© २०२३
तिलोत्तमा,५ फागुन । तिलोत्तमा नगरपालिका र नवजीवन क्लब तिलोत्तमा ६ को आयोजनामा शनिबारदेखि तिलोत्तमा कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खांणले क्रिकेट खेलका लागि तिलोत्तमा उर्बर भूमि भएको र यहां राष्ट्रिय खेलाडीहरु पनि रहेको उल्लेख गर्र्दै तिलोत्तमालाई खेलकुदका माध्यमबाट देश विदेशमा चिनाउन सकिने र खेलका माध्यमबाट आर्थिक,भौतिक र पर्यटन विकास पनि हुने बताए ।
वडा नंं ६ का अध्यक्ष गणेश पाठकले खेलकुदले हरेक व्यक्तिलाई शारीरिक र मानसिकरुपमा स्वस्थ र अनुशासित बनाउने भएकाले खेलकुद प्रतियोगिताहरु नियमित आयोजना हुनुपर्ने बताए ।
उद्घाटन समारोहमा क्लबका अध्यक्ष केशव भुसाल,वरिष्ठ उपाध्यक्ष प्रकाश न्यौपाने, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सागर पाठक, सचिव गोबिन्द पाण्डे लगायतले बोल्दै यो प्रतियोगिता सिंगो तिलोत्तमा नगरको भएकाले सफल बनाउनु सबै वडा र नगरवासीको दायित्व भएको बताए । तिलोत्तमा ६ दश नम्बरस्थित नवजीवन क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नंं १६ ले वडा नंं ९ लाई २१ रनले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । उक्त खेलमा रामचन्द्र पाण्डे म्यान अफ द म्याच भएका थिए ।
यस्तै शनिबारै भएको दोस्रो खेलमा वडा नं २ ले वडा नंं ११ लाई ३० रनले पराजित गरेको छ । सो खेलमा रुपेश बसयाल म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल बिहान ९ बजेदेखि वडा नंं ४ र ८ तथा दोस्रो खेल वडा नंं ७ र १५ बीच दिउसो १ बजे शुरु हुने प्रतियोगिताका संयोजक एवं क्लबका उपाध्यक्ष सागर पाठकले जानकारी दिए ।
२० ओभरमा खेलाइएको प्रतियोगितामा तिलोत्तमाका १७ वडा मध्ये वडा नंं १२ वाहेक १६ वडाका टिमको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने पाठकले बताए । यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफी र इमर्जिङ प्लेयरलाई ट्रफी प्रदान गरिने उनले बताए ।