© २०२३
एक जना शिक्षक थिए । हेड सरले उनलाई नियमित पठनपाठन बाहेक कक्षा ५ सम्मका बालबालिकाहरूका लागि अतिरिक्त क्रियाकलापको जिम्मेवारी पनि दिएका थिए । कम्तीमा महिनाको एकचोटि उनले बालबालिकाहरूका बीचमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्नु पर्दथ्यो ।
एक शुक्रबार कक्षा ५ का बालबालिकाका बीचमा चित्रकला प्रतियोगिता हुने भयो । चित्रकलाको विषय तोकिएको थिएन । समय भने तोकिएको थियो । एक घण्टा । एक घण्टाभित्र आफूले रोजेको जुनसुकै कुराको चित्र बनाउन सकिन्थ्यो । जुनसुकै कलर प्रयोग गर्न सकिन्थ्यो ।
अघिल्लो दिन बिहीबार चित्रकला प्रतियोगिताकै बारेमा कक्षामा छलफल भयो ।
“सर ! घरको चित्र बनाए पनि हुन्छ ?” एउटा बालकले सोध्यो ।
“हुन्छ तर राम्रो चिटिक्कको बनाउने कोशिस गर्नु ।” सरले जवाफ दिए ।
“सर ! हिमालको चित्र बनाए पनि हुन्छ ?” एउटी बालिकाले सोधी ।
“हुन्छ नि, हिमालको बनाए पनि हुन्छ !” सरले जवाफ दिए ।
“सर ! मैले त सरस्वती माताको चित्र बनाउने हुम् ।” अर्कोले भन्यो ।
“सर ! मैले त गाईको चित्र बनाउने हुम् ।” अर्कीले भनी ।
“सर ! मैले त…….. ।” अझै अर्कोले भन्यो ।
“सर ! मैले त…….. ।” अझै अर्कीले भनी ।
एवं प्रकारले कक्षाका सबैले आफूले बनाउन गइरहेका चित्रका बारेमा बोले । आफ्नो तयारीको कुरा सुनाए ।
सरले देखे–सबैले ट्याउँट्याउँ बोलिरहँदा पनि एउटा बालक भने झोक्रयाएर चुपचाप बसिरहेछ । साथीहरूले त्यत्रो उत्साहका साथ छलफलमा भाग लिइरहेका छन् । ऊ भने मौन बसिरहेछ ।
सरलाई लाग्यो–यही वर्ष भर्ना भएको विद्यार्थी हो । नयाँ छ । साथीहरूसँग पनि त्यति भिजेको छैन । गाउँबाट आएको केटो । अलि संकाची त हुने नै भयो !
सरले उसलाई पनि प्रतियोगिताका लागि उत्साहित पार्ने उद्देश्यले भने–“सन्त बहादुर ! तिमीले के को चित्र बनाउने त भोलि ?”
सरले आफ्नो नाम लिँदाबित्तिकै सन्त बहादुर सतर्क भइसकेको थियो । ऊ बेन्चीबाट जुरुक्क उठ्यो । साथीहरूलाई हे¥यो । सरलाई हे¥यो ।
अनि निर्दोष भावमा बिस्तारै भन्यो–“ के को चित्र बनाउने थाहा छैन सर !”
सन्त बहादुरको अनुहारमा एउटा अचम्मको भाव थियो । मानौं एउटा अज्ञात पीडाको भाव । मानौं एउटा अज्ञात डरको भाव । मानौं एउटा आक्रोशको भाव ।
सन्तेलाई हेर्दै सरले भने –“ल ल, जे को चित्र बनाए नि राम्रो बनाउने कोशिस गर्नु !”
त्यसरी त्यो दिनको छलफल सकियो ।
भोलिपल्ट समयमै स्कूलको घण्टी बज्यो । तीन पिरियडसम्म नियमित पढाइ भयो । त्यसपछि शुरु हुने वाला थियो शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गतको चित्रकला प्रतियोगिता !
सरले सबैलाई तोकिएको स्थानमा राख्नुभयो । सबैलाई चित्र कोर्ने कागज दिनुभयो । जसले जुन कलरको पेन्सिल माग्छ, सरले त्यही कलरवाला पेन्सिल बट्टाबाट निकाल्दै दिनुभयो ।
सबैले आफूले रोजेको कलर पेन्सिल लिएर चित्र बनाउन शुरु गरे । तर सन्त बहादुर भने आफ्नै पेन्सिलले चित्र बनाउने सुरसार गर्दै थियो ।
सरले सन्त बहादुरलाई सोधे–“सन्त बहादुर, तिमीलाई कलर पेन्सिल चाँहिदैन ? भन त तिमीले के को चित्र बनाउने हौ, त्यही अनुसार म्याच गर्ने गरी कलर पेन्सिल दिन्छु नि म तिमीलाई !”
सन्त बहादुर केही छिन बोलेन । सरको प्रेमपूर्ण बोलीले उसको अनुहार अलिकति हँसिलो भयो । सरको स्नेहले उसका आँखा रसाए जस्तो भयो । सरले त्यो कुरा नोट गरे ।
अलिकति सोंचेर सन्तेले सरलाई भन्यो–“सर मलाई गाढा खैरो रङको पेन्सिल दिनुस् ।”
चित्रकला प्रतियोगिता शुरु भइसकेको थियो । सबै बालबालिकाहरू एकचित्त लगाएर चित्र बनाइरहेका थिए । कसैले गाई, कसैले स्कूल, कसैले हिमाल, कसैले घर, कसैले फूल, कसैले नदी, कसैले चरा, कसैले….।
सबैतिर घुम्दै घुम्दै सरको नजर सन्त बहादुरमा प¥यो । सन्त बहादुर चित्र बनाइरहेको थिएन । दाहिने हातको चोर, माझी र बूढी औलाको बीचमा पेन्सिल घुमाइरहेको ऊ गहिरो सोंचमा परेको देखिन्थ्यो । यस्तो लाग्थ्यो उसको दिमागमा अनेक चित्रहरू खेलिरहेका थिए र ऊ कुन चित्र बनाउने भनेर निर्णय गर्न सकिरहेको थिएन ।
सरले फेरि एक पटक सबैतिर नजर घुमाए । उनको नजर फर्केर फेरि सन्तेमा अडियो । यस पटक भने सन्ते कागजमा छिटोछिटो पेन्सिल चलाइरहेको थियो । सरको ओंठमा एउटा सानो मुस्कान देखियो र तत्कालै लुप्त भइगयो ।
प्रतियोगिताको समय सकियो सबैले आफूले बनाएका चित्रहरू सरलाई बुझाए । सबै बालबालिकाहरूका चित्र राम्रा थिए ।
अनि सन्त बहादुरले बनाएको चित्र ?
सरले कागजको खातबाट सन्त बहादुरको चित्रवाला कागज निकाले । सन्त बहादुरले बनाएको चित्र हेरे । सन्त बहादुरले बनाएको चित्र देखेपछि सरको मुटु धक्क भयो । उनलाई पृथ्वीको अतिरिक्त गुरुत्वाकर्षण शक्तिले तानेजस्तो भयो ।
सन्तेको चित्र आम बालबालिकाले बनाएको चित्र भन्दा बिलकुलै फरक थियो ।
अलग ढंगको । अलग रंगको । शायद अलग अर्थको ।
त्यो चित्र एउटा लौरोको थियो ।
लौरो खैरो रंगको थियो । पातलो थियो तर लामै थियो । मुट्ठीतिर त्यो अलि मोटो थियो । फेँदतिर भने क्रमशः पातलो हुँदै गएको थियो । लट्ठी गजबको थियो । अहिले नै ज्यानमा बर्सेलाजस्तो जीवन्त थियो । गजबको थियो । त्यो लट्ठी खासमा हेर्दैमा सर्पको प्रतिविम्व जस्तो थियो ।
सन्त बहादुरको चित्र देखेर सरको दिमाग खराब भयो । त्यस्तो चित्र पाँच कक्षामा पढ्ने बालकबाट अपेक्षा गर्न सकिदैनथ्यो । उनलाई भुराभुरी चित्रकारहरूका चित्रका बीचमा एउटा महान् चित्रकारको चित्र भेटेजस्तो भयो ।
सन्तेले त चित्र बनायो । आफूले बनाएको चित्र सरलाई दियो र आफनो बाटो लाग्यो । तर त्यही चित्रका कारण सरलाई रातभरि निद्रा लागेन । त्यो चित्रको लौरोेले सरलाई रातभरि लखेटिरह्यो ।
सरले बिहान चियाको चुस्कीसँगै निकै बेर गम खाए । सन्तेको चित्रको अर्थ के हो ? सन्तेले किन बनायो लौरोको चित्र ? के उसले नानीहरूमाथि लौरो प्रयोग गर्ने सर मिसहरूमाथि व्यङ्ग्य गरेको हो ? तर स्कूलमा लौरोको प्रयोग हुन छाडेको त वर्षौ भइसक्यो । नानीहरूलाई पिट्ने वा हतोत्साही गर्ने काम हुन छाडेको दशकौं भइसक्यो । स्कूलमा शिक्षकले नानीहरूलाई आफ्नै छोराछोरीलाई जस्तै माया गर्दछन् । तिनलाई मायाले पढाउँछन् । तब स्कूलमा लौरोको के काम ?
स्कूलमा लौरोको काम छैन ! बिलकुलै काम छैन ।
आइतबार बिहान १० बजे स्कूलको घण्टी बज्यो । प्रार्थना सभामा हेड सरले शुक्रबार भएको चित्रकला प्रतियोगिताको विजयीहरूको नाम घोषणा गर्नुभयो । हिमालको चित्र बनाएकी कमला प्रथम भई । नदीको चित्र बनाएको घनश्याम दोस्रो भयो । घरैघरको चित्र देखाएर शहरको विम्व प्रस्तुत गरेको रेनूको चित्र तेस्रो भयो ।
मूल्याङ्कन समितिको निर्णयमा सन्त बहादुरको लौरोले कुनै स्थान पाएन ।
तर सरको दिमागमा सन्त बहादुरको लौरोको विशेष छाप परिसकेको थियो । सरलाई लाग्दथ्यो कि सन्तेको चित्रको खास अर्थ छ । खास उद्देश्य छ । तर त्यो चित्रको अर्थ के हा्े ? त्यसको उद्देश्य के हो ?
मध्यान्हको खाजा ब्रेकमा सरले सन्त बहादुरलाई बोलाए । आफूसँगै नजिकैको चिया पसलमा लिएर गए । आफू र सन्त बहादुर दुबैका लागि चिया नास्ता मगाए । सन्त बहादुर सरको व्यवहारले अलमल्ल परेको थियो । तर सरको मायालु व्यवहारले उसको दकस कम हुँदै गयो ।
सरले सोधे–“सन्त बहादुर तिमीले बनाएको चित्र धेरै राम्रो थियो । मेरो नजरमा त धेरै राम्रो ! फस्र्ट, सेकेण्ड वा थर्ड नभए पनि तिम्रो चित्र नै मलाई सबैभन्दा राम्रो लागेको छ । किन लौरोकै चित्र बनायौ ? तिमीले लौरोकै चित्र बनाउने प्रेरणा कहाँबाट पायौ ?”
सन्त बहादुर एकछिन मौन बस्यो । सरले हेर्दाहेर्दै उसका आँखा रसाए ।
सन्तेले भन्यो–“लौरो मेरो दुःखको साथी हो सर । मलाई पिट्ने साथी ! म एक्लै छैन भनी विश्वास दिलाउने साथी ! बाबाले बेला कुबेला लौरोले सोट्ठ्याउनु हुन्थ्यो । रक्सी खाएर आउने । आमासँग कल गर्ने । आमालाई पिट्ने । मैले आमालाई नपिट्नु भनी छुट्याउन जाँदा मलाई त्यही लौरोले पिट्ने ! शरीरमा निलडाम बसुन्जेल पिटिरहने ! सर ! त्यसरी जोडिएको हो मसँग लौरो ।”
“अनि ?” सरले एक शब्द मात्रै बोले ।
“त्यसरी नै मेरा दिनहरू बिते । बाबा, आमा र तिनका बीचमा आउने रक्सी ! रक्सीले मातिरहने बाबा । मातेको बाबाको राक्षसीपन ! त्यसपछि आमा र मेरो शरीरमा बर्सिने बाबाको त्यो लौरो ! त्यो गाढा खैरो रङको लौरो !” सन्तेले एक सासमा भन्यो ।
“त्यो त तिम्रो पहाड घरको कुरा भयो । यता शहरमा आएपछि त्यो लौरोको के काम ?” सरले सोधे ।
“मलाई पनि त्यस्तै लागेको थियो । पढ्न पाइन्छ । काम गरेपछि खान पाइन्छ । शहरमा कमसेकम बाबाको लौरो खानु पर्दैन भन्ने लागेको थियो । छोडी हिँड्दा लाग्न त आमाको धेरै माया लागेको थियो, आमालाई बाबाले पिट्दा कसले बचाउ गर्ला भन्ने पनि सोचेकै हुँ तर शहरमा पढ्न पाइने लोभमा म साहुको पछि लागेर आएँ । दुई चार हजार पाए पछि बाबाको होश ठेगानमा रहेन । आमाले पनि स्वीकृति दिइन् । सोचिहोलिन् –शहर गएपछि कमसेकम केटाले भोकमा दुई छाक खान त पाउला !
तर शहर पनि त्यस्तै रहेछ । साहु पनि एक राक्षस नै रहेछ । बाबाले भन्दा बढी रक्सी साहुले खाँदो रहेछ । साहुनी पनि त्यस्तै कडा स्वभावकी रहिछन् । बिहान चार बजे उठेर काम गर्नु पर्ने । भाँडा माझ्ने, लुगा धुने, झाडु पोछा, भान्साको काम आदि सबै गर्नु पर्ने । तेल लाइदिनु पर्ने । अलिकति तलमाथि भयो भने वा होमवर्क गर्दागर्दै कुनै काममा दस मिनेट ढिलो भयो भने मेरो ज्यानमा त्यस्तै लौरो चल्ने ।
गाढा खैरो रङको लौरो !”
सर एकैछिन अवाक भए । के बोल्ने सोंच्न सकेनन् । सन्त बहादुरको अनुहार हेरे । भर्खर आँधीले उखेलेर गएको बाली जस्तै देखिएको थियो सन्तेको अनुहार ।
सरले सोधे–“सन्त बहादुर ! अनि स्कूलको चित्रकला प्रतियोगितामा त्यही लैरोको चित्र किन बनायौ त ?”
सन्तेले भन्यो–“सर ! लौरोको जुन चित्र मैले बनाएको छु, त्यो मेरो शरीरमाथि बर्सिने लौरोको चित्र हो । त्यो लौरोलाई मैले कहिल्यै बिर्सनु हुँदैन । त्यो लौरोले मलाई म को हुँ भन्ने कुरा बताउँछ । मेरा लागि आजको समय त्यही लौरोको समय हो । समयलाई देखाउनु नै कलाको काम हो भनेको होइन सर तपाईले ? त्यसैले मैले लौरोको चित्र बनाएको हुँ ।”
सरसँग बोल्ने कुरा केही थिएन ।
अनायासै उनको मुखबाट फुत्किहाल्यो–“अनि ?”
पहाडबाट झरिरहेको झरनाको आवाजमा बोल्यो बालक सन्तबहादुर । उसले सरको आँखामा आँखा जुधाएर भन्यो–“अनि के ? एकदिन मेरो शरीरमा बर्सिने यो खैरो रंगको लौरोले मेरो जीवनबाट विदा लिनेछ । तर त्यसपछि पनि लौरो मबाट टाढा हुने छैन । मेरो हातमा त्यसपछि कालो रंगको लौरो आउनेछ ।”
सरले सोधे–“कालो रंगको लौरो ! त्यसको मतलब के हो ?”
सन्त बहादुरले भन्यो–“कालो रंगको लौरो भनेको प्रहरीको लौरो सर । ‘प्रहरी मेरो साथी’ भन्ने पाठमा प्रहरीको बारेमा राम्ररी बताइएको छ । बदमास र खराब मानिसहरूलाई दण्ड दिनका लागि प्रहरीले काम गर्दछन् । तिनका हातमा लौरो हुन्छ । तिनका लौरोको रंग कालो हुन्छ । एकदिन म पनि प्रहरी बन्नेछु । बालककादेखि नै लौरो खाँदै आएको मैले एकदिन बदमास र दुष्टहरूमाथि लौरो बर्साउँदै तिनलाई न्यायालयको मुखियाको अघि पेश गर्नेछु ।”
सन्त बहादुरको कुराले सरको दिमाग खराब भयो । के बोल्ने तिनले निधो गर्न सकेनन् । तिनको मुखबाट फेरि नस्कियो–“अनि ?”
सन्त बहादुरले भन्यो–“ अनि के र सर ? अर्को पटकको चित्रकला प्रतियोगितामा पनि मैले भाग लिनेछु । त्यस प्रतियोगितामा पनि मैले लौरो नै बनाउनेछु । तर सर, त्यो बेला मैले बनाउने लौरोको रंग कालो हुनेछ । त्यसबेला मलाई कालो रंगको पेन्सिल दिनुहोला है !”
सर अवाक भए ।
सन्त बहादुरको अनुहार तम्तमाइलो हुँदै गयो ।