© २०२३
बुटवल, ६ पुस । लुम्बिनीको मन्त्रिमण्डलमा आफ्नो समूहलाई नसमेटिए कोशीमा जस्तै विद्रोह गर्ने शेखर कोइराला –गगन थापा पक्षले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई चेतावनी दिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसको संस्थापन पक्षका एक जना र माओवादी केन्द्रका एकजना गरी दुई जना मन्त्री थप गर्ने तयारी गरेपछि शेखर पक्षले आफ्नो समूहलाई बाइपास गरेर एकलौटी गरेमा संसदीय दलको नेता फेर्नेसम्मको चेतावनी दिएको हो ।
कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले ‘गुण्डा नाइके’को विवादास्पद पृष्ठभूमि भएका प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको जोडबलमा रोज राणालाई मन्त्री बनाउने तयारी भएपछि पार्टीको संस्थापन इतर समूहले त्यो स्वीकार्य नहुने बताएको छ ।
शेखर पक्षले भने नवलपरासी पश्चिमका विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ । यसअघि मन्त्रिमण्डलमा संस्थापन पक्षबाट मुख्यमन्त्रीसहित दाङका राजु खनाल मन्त्री छन् । अब हुने विस्तारमा संस्थापन इतरका सांसदलाई मन्त्री बनाउनुपर्ने शेखर–गगन पक्षको माग छ ।
मन्त्रिमण्डल विस्तारमा एकलौटी ढंगले अघि बढ्न खोजेको सूचना पाएपछि नेपाली कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनालले मुख्यमन्त्री चौधरीलाई फोन गरेर पार्टीको अर्को पक्षलाई पनि समेटेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएका छन् । आफूहरुको सुझावलाई बेवास्ता गरेर एकलौटी गरे पार्टीको आकस्मिक वैठक राखेर मुख्यमन्त्रीमाथि प्रश्न उठाउने जानकारी गराएको बताए ।
‘आजै मन्त्रिमण्डल विस्तार गर्ने भन्ने कुरा सुनेपछि मैले मुख्यमन्त्रीलाई फोन गरेर सबैलाई समेटेर अघि बढ्नुस् अन्यथा परिणाम राम्रो हुंदैन भनेको छु’–खनालले भने–‘यसबारेमा महामन्त्री गगन थापा र शेखर कोइरालालाई पनि फोन गरेर जानकारी गराएं,महामन्त्रीले पार्टी सभापतिलाई फोन गरेर तपाईलाई जानकारी गराउनु भन्नुभयो ।’
कांग्रेस संसदीय बोर्डकै अर्का नेता विष्णु पोखरेलले लुम्बिनी प्रदेशको पार्टी समितिमा संस्थापन इतरको शक्ति ९० प्रतिशत हाराहारी रहेको दावी गर्दै सरकारमा संस्थापन इतर पक्षबाट एकजना पनि नसमेटिए कोशीमा जस्तै विद्रोह हुने चेतावनी दिए ।
‘मुख्यमन्त्रीले आफ्नो गुटका मान्छे मात्रै मन्त्री बनाउन मिल्दैन, पार्टीको निर्देशन पनि मान्नुपर्छ’–पोखरेलले भने–‘एकलौटी गरिएमा पार्टीभित्रै द्वन्द्व हुन्छ र सरकारले राम्रो काम गर्न सक्दैन ।’
मुख्यमन्त्रीको सचिवालयले भने पार्टीबाट मन्त्री हुनेको नाममा अन्तिम निर्णय भइनसकेको दावी गरेको छ ।
लुम्बिनीमा तीन वटा मन्त्रालय खाली रहेपनि नेपाली कांग्रेस प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जना भन्दा बढी मन्त्री बनाउन नहुने निर्देशन दिएको छ । त्यही भएर अब हुने मन्त्रिमण्डल विस्तारमा संस्थापन इतरबाट एकजनालाई मन्त्री बनाउनैपर्ने यो पक्षको अडान छ । दुई जना मन्त्री थप गर्दा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई बनाउन थालेको स्रोतले जनाएको छ । केसीलाई खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
कांग्रेसबाट नियुक्त हुने मन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीले आफूसंगै राख्ने योजना बनाएका छन् । गत बैशाख १४ गते एमाले र राप्रपा बाहेक ८ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदार दलहरुको वीचमा सहमती कायम नहुँदा सरकार बनेको झण्डै ९ महिना सम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । विभागीय मन्त्री नपाउँदा मन्त्रालयको योजना निर्माण र कार्यान्वयनको काम प्रभावकारी हुन सकेको छैन ।
नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।
माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पुर्वाधार विकास मन्त्री छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी