© २०२३
सुर्खेत, ९ मंसिर ।
भुकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्नको लागि तीन ठूला पार्टीका कार्यकर्ताहरु खटिएका छन् । नेपाली काँग्रेस, नेकपामा ओवादी केन्द्र र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु भूकम्प प्रभावित क्षेत्रमा खटिएका हुन् । गएको कात्तिक १७ गते आएको भूकम्पका कारण ठूलो मात्रामा जनधनको क्षति भएको जाजरकोट र रुकुमपश्चिममा पार्टीका नेता तथा कार्यकर्ताहरु पुगेका छन् ।
चिसो बढेसँगै प्रभावित क्षेत्रमा जिवनयापन गर्न कष्टकर बन्दै गएको छ । भूकम्पका कारण भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिकाका अधिकांश घरहरु भग्नावशेष बनेका छन् । राहतको भरमा त्रिपालमुनि दैनिकी चलाएका नागरिकहरुलाई सहजताको लागि अस्थायी घर टहरा निर्माणमा लागिएको पार्टीका कार्यकर्ताहरुले जनाएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा काँग्रेसका प्रदिप पौडेलको नेतृत्वमा टोली खटिएको छ । नेकपा माओवादी कर्णाली प्रदेशका नेता तथा कार्यकताहरु पनि उक्त क्षेत्रमा खटाइएको पार्टीका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । त्यसैगरी नेकपा एमालेको भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ लगायतले जाजरकोटको भेरी, नेलगाड नगरपालिका विभिन्न वडाहरुमा काम गर्दै आइरहेका छन् ।
सुरुवातमा भग्नावशेष पन्छाउने काममा लागिएको र यस लगत्तै अस्थायी टहरा निर्माणको काममा लागिने उनीहरुको भनाई छ । पाँच दिनयता जाजरकोटका विभिन्न बस्तीहरुमा भग्नावशेष पन्छाउने काममा लागिएको एमाले नेता मोहन बडुवालले जानकारी दिए ।